च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाको कीर्तिमानी जित

फाल्गुन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाको कीर्तिमानी जित

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाले विजयी सुरूआत गरेको छ । आज भएको खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ५ विकेटले हराएको छ । जोश इङ्लिसको शतकीय पारीको मद्दतमा अस्ट्रेलियाले इङ्ल्यान्ड विरुद्ध कीर्तिमानी जित दर्ता गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३५१ रनको भीमकाय लक्ष्य प्रस्तुत गरेको थियो । इङ्ल्यान्डका लागि बेन डकेटले सर्वाधिक १६५ रनको शानदार पारी खेलेका थिए । यस्तै जो रूटले ६८, जोस बट्लरले २३, जोफ्रा आर्चरले २१ रन बनाएका थिए ।

बलिङतर्फ अस्ट्रेलियाका बेन ड्वारशसले ३ तथा एडम जाम्पा तथा मार्नस ल्याबुशेनले समान २ विकेट लिएका थिए । यस्तै ग्लेन म्याक्सवेलले १ विकेट लिएका थिए ।

३५२ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले ४७ ओभर ३ बलमा ५ विकेटको क्षतिमा लक्ष्य भेटायो । अस्ट्रेलियाको यस जित कुनै पनि आईसीसी प्रतियोगितामा भएको हालसम्मको सर्वाधिक सफल ‘रन चेज’ हो ।

अस्ट्रेलियाका लागि जोश इङ्लिसले १२० रनको शतकीय पारी खेले । यस्तै एलेक्स केरीले ६९, म्याट शर्टले ६३ तथा मार्नस ल्याबुशेनले ४७ र ग्लेन म्याक्सवेलले ३२ रनको पारी खेले ।

बलिङतर्फ इङ्ल्यान्डका लियाम लिभिङस्टोन, आदिल रशीद, ब्राइडन कार्स, जोफ्रा आर्चर तथा मार्क वुडले समान १-१ विकेट लिए ।

जितसँगै अस्ट्रेलिया रन रेटका आधारमा समूह ‘बी’ को दोस्रो स्थानमा छ । यो समूहमा दक्षिण अफ्रिका शीर्ष स्थानमा छ भने इङ्ल्यान्ड र अफगानिस्तान क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

च्याम्पियन्स ट्रफीमा भोलि भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित खेल हुँदै छ । उक्त खेल नेपाली समय अनुसार दिउँसो २:४५ बाट सुरू हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement