काठमाडौं । होटल संघ नेपालले वार्षिक ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने दाबी गर्दै आएको छ । तर सरकारले चालु आर्थिक वर्षमा व्यवसायीले भनेभन्दा पनि आधा कम अर्थात् १६ लाख पर्यटक भित्र्याउने लक्ष्य बजेट मार्फत् लियो । तर, त्यही लक्ष्य पनि पूरा हुन नसक्ने देखिएको छ । किन पूरा हुन सक्दैनन् त सरकारको लक्ष्य ?
बजेटको बुँदा नम्बर ६५ मा १६ लाख पर्यटक भित्र्याउने गरी पूर्वाधार निर्माण र पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरिने उल्लेख गरिएको छ । तर लक्ष्य पूरा गर्न सरकारले प्रचारप्रसार गर्यो, न पर्यटक भित्र्याउन आवश्यक पूर्वाधार नै । जसका कारण चालु आर्थिक वर्षको माघसम्म जम्मा ६ लाख ४९ हजार मात्रै पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या लिएको लक्ष्यको ४३ प्रतिशत मात्रै हो ।
बजेटले लिएको लक्ष्य पूरा गर्न अब हरेक महिना १ लाख ९० हजारभन्दा बढी पर्यटक नेपाल भित्रिनु पर्छ । तर सिजनमै पनि औसत १ लाख पर्यटक मात्रै नेपाल भित्रिने गरेका छन् ।
गत वर्ष माघसम्म ६ लाख २४ हजार तीय सय पर्यटक भित्रिएका थिए भने माघपछिका ५ महिनामा ४ लाख ९९ हजार ६४२ गरी ११ लाख २३ हजार ९४२ जना पर्यटक नेपाल भित्रिएका थिए । नेपालमा औसत पर्यटक वृद्धि १२ देखि १५ प्रतिशत भए पनि सरकारले हचुवाका भरका ७० प्रतिशत बढी पर्यटकको लक्ष्य लियो ।
१६ लाख पर्यटक भित्र्याउन सरकारले सिजनमा १ लाख ५० हजार र अफ सिजनमा एक लाख पर्यटक भित्र्याउनु पर्छ । तर, त्यसका लागि अन्तर्राष्ट्रिय प्रचारप्रसारसँगै भरपर्दो अन्तर्राष्ट्रिय उडान त छैन नै, पर्यटकीय गन्तव्यसँग जोड्ने हवाई तथा सडक पूर्वाधार पनि सहज छैनन् ।