इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू सल्बलाए : माओवादी अध्यक्ष दाहाल

फाल्गुन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू सल्बलाए : माओवादी अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू सल्बलाएको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिले देशमा राजनीतिक परिस्थिति चुनौतिपूर्ण रहेको बताउनुभयो ।

उहाँले सरकारको उपलब्धि दिनप्रतिदिन नराम्रो हुँदै गएको र जनतामा सरकारप्रति आक्रोश र असन्तुष्टि पोखिँदै गएको बताउनुभयो । उहाँले सरकारप्रतिको आक्रोश र असन्तुष्टिलाई लिएर पूर्वराजा शाहले पुनरागमन गर्न भन्दै दिवास्वप्न देख्ने गरेको बताउनुभयो । उहाँले सरकारप्रतिको आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरूले आफ्नो आफ्नो हिसाबले प्रयोग गर्ने कोसिस गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले देशमा राजनीतिक परिस्थिति अलि चुनौतिपूर्ण नै छ । आजै पनि तपाईंले मिडियामा हेर्नुभयो होला सरकारको पफर्मेन्स दिनप्रतिदिन नराम्रो हुँदै गएको छ, जनतामा दिनप्रतिदिन सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको छ । सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरूले आफ्नो आफ्नो हिसाबले प्रयोग गर्ने कोसिस पनि गरिरहेका छन् । मलाई लाग्छ तपाईंहरू सबैले यो कुरालाई महसूस गरिरहनुभएकै छ । अझ त्यसमा पनि इतिहासमा इतिहासको एउटा रछ्यानमा मिल्क्याइएका तत्त्वहरू पनि फेरि एकचोटी पुनरागमन हुने हो कि भन्ने दिवास्वप्नमा छन् र त्यस खालका प्रचारबाजीहरू पनि भइरहेका छन् ।”

अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय संघ संस्थाले नेपाली कांग्रेस र नेकपा एमालेलाई तोकेरै ठगहरू हुन् भनेको आरोप लगाउनुभयो । उहाँले अहिले देश ग्रे लिस्टमा पर्न लागेको र भ्रष्टाचारमा अग्रणी भएको बताउनुभयो । सरकारलाई सीधै अन्तर्राष्ट्रिय संघ संस्थाले अपमानजनक ढंगले सरकार भ्रष्टाचारमा लिप्त भनेको पनि बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “अहिले फेरि नेपाल आर्थिक रूपले ग्रे लिस्टमा र भ्रष्टाचारमा अग्रणी भएको छ । सरकारलाई सीधै अन्तर्राष्ट्रिय संघ संस्थाले बढो अपमानजनक ढंगले सरकार भ्रष्टाचारमा लिप्त छ । ठगहरू हुन् यी पार्टीहरू भनेर कांग्रेस र एमालेलाई त ताकेर नै भनेको पनि तपाईं हामीले देखिरहेका छौं ।”

अध्यक्ष दाहालले अब माओवादी केन्द्र संघ र प्रदेशमा प्रतिक्रियावादी र दलालहरूसँग मिलेर सरकार बनाउनेतिर नजाने दाबी गर्दै आफ्नो खुट्टामा उभिने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement