विदेशमा पसिनासँग साटेको रेमिट्यान्सले उघारेको जीवनको नयाँ अध्याय

माघ ३०, २०८१ |शमशेरविक्रम जीसी
विदेशमा पसिनासँग साटेको रेमिट्यान्सले उघारेको जीवनको नयाँ अध्याय

प्युठान । कुनै समय एक छाक टार्न धौधौ हुने परिवारका सदस्यका लागि वैदेशिक रोजगारी सुवर्ण अवसर बनेको छ । यसैका एक उदाहरण हो मल्लरानी गाउँपालिका- ३ बर्बोटका विमला र बालचन्द्र पौडेलको परिवार । 

एक छाक मीठो खान समस्या भएको पौडेल परिवारका बालचन्द्र विदेशिनुभयो त्यसपछि उहाँहरूको जीवनको नयाँ अध्याय सुरू भयो ।

प्युठान मल्लरानी गाउँपालिका-३ बर्बाेटकी विमला पौडेललाई विगत सम्झँदा अहिले पनि मन भारी हुन्छ । न त गाँसको टुंगो, न त वासकोे नै । २५ वर्ष पहिले परिवारबाट अलग्गिएर एक्लै बस्दाका ती दिनहरू र झेल्नुपरेका समस्याले विमलाको विगत त्यति सुखद् छैन । तर २१ वर्ष पहिले श्रीमान् बालचन्द्र पौडेल रोजगारीका लागि विदेश गएपछि भने पौडेल परिवारको अवस्था फेरियो । 

सुरूका दिनमा खान लाउनसम्मको समस्या हुने परिवारमा अहिले दुई चार लाख रुपैयाँको समस्या छैन । ३ वर्ष मलेसिया र त्यसपछि लगातार १८ वर्ष दुबईमा काम गर्दा बालचन्द्रले पसिनासँग साटेको रेमिट्यान्सले पौडेल परिवारमा खुशियाली ल्याएको हो ।

बालचन्द्रले विदेशमा गरेको संघर्षलाई विमलाले परिणाममा देखाउने काम गर्नुभयो । उहाँले घरमै किराना पसल सञ्चालन गर्नुहुन्छ । खसीबोका र भैंसी पाल्दै आउनु भएकी विमलाले दूध, घ्यू र खसीबोका बेचेर राम्रो आम्दानी गरिरहनु भएको छ । 

श्रीमान्‌ले विदेशमा गरेको श्रम र विमलाले यता गरेको मेहनतले छोरीहरूको पढाइको खर्च र घरखर्च सहज भएको मात्र छैन, बचत पनि प्रशस्त भएको छ । श्रीमान्‌ले पठाएको रेमिन्ट्यान्सबाट पौडेल परिवारले दाङको देउखुरीमा जग्गा किनेर एक तले पक्की घर बनाएका छन् । जेठी छोरी तृषना कृषि बाली विज्ञान विषय लिएर पढ्दै छिन् । कान्छी छोरी सम्झनाले पनि यसै वर्षदेखि एमबीबीएस पढ्न सुरू गरेकी छन् । 

दुई छोरी अलग अलग स्थानमा बसेर पढ्छन् । दुवै छोरीका लागि मासिक २० देखि ५० हजार रुपैयाँ खर्च लाग्छ । जसको जोहो बालचन्द्रले विदेशबाटै पठाउने गर्नुहुन्छ । विमलाले बिरामी पर्दा सहयोगका लागि स्थानीय समूह, संघसंस्थामा बचत पनि गर्नुहुन्छ ।

समय समयमा बिदामा घर आउने बालचन्द्र र विमलालाई दुवै छोरीलाई उच्च शिक्षासम्म अध्ययन गराएर आफ्नै खुट्टामा उभिनसक्ने बनाउने लक्ष्य छ । वैदेशिक रोजगारीका लागि वर्षौं विदेशमा पसिना बगाएका बालचन्द्रका कारण अहिले पौडेल परिवार खुशी छ ।


Image

शमशेरविक्रम जीसी

जीसी कान्तिपुर टेलिभिजनका प्युठान संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement