रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराधविरुद्ध मुद्दाको थुनछेक बहस आज पनि जारी छ ।
बिहीबारदेखि सुरु भएको थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । रवि लामिछानेका तर्फबाट ९ जना वकिलले बहसमा भाग लिन नाम टिपाएका थिए । तर, सात जना कानुन व्यवसायीले मात्र बहस गर्ने जनाइएको थियो । तीन जनाको बहस शुक्रबार नै सकिएकाले आज बाँकी चार जनाले बहस गर्दैछन् ।
यसअघि जाहेरवालाका तर्फबाट तीन जना कानुन व्यवसायी तथा सरकारी वकिलका तर्फबाट ८ जनाले बहस गरेका थिए । प्रतिवादी तर्फका कानुन व्यवसायी र सरकारी वकिलको बहस सकेपछि जिल्ला अदालतबाट आदेश आउनेछ ।
बुधवार अदालतमा हाजिर भएका लामिछानेलाई बयान सकिएपछि परिवार र कानुन व्यवसायीको जिम्मामा छाडिएको थियो ।