ताप्लेजुङ । २०८१ सालमा २ लाख २१ हजार ६०२ तीर्थयात्री पाथीभरा पुगेका छन् । गाडीबाट उत्रिएर ५ किलोमिटर उकालो यात्रा गर्नुपर्ने र ३ हजार ७९४ मिटर उचाइसम्म पुग्नुपर्ने पाथीभरामा यस वर्ष यत्तिको संख्यामा तीर्थयात्री पुगेको पाथीभरा क्षेत्र विकास समितिले तथ्यांक सार्वजनिक गरेको हो ।
कात्तिक महिनामा सबैभन्दा बढी र साउनमा सबैभन्दा कम दर्शनार्थी पुगेको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार साउनमा एक हजार ९५५ र कात्तिकमा ६१ हजार १७३ जना पुगेका छन् । ०८१ साल सुरु भएको महिना वैशाखमा ५१ हजार ८०४ जना पुगेका थिए भने वर्षको अन्तिम महिना चैतमा ४० हजार ४३५ जना पुगेका थिए ।
यस वर्ष ३ करोड ५ लाख ५६ हजार १२ रुपैयाँ भेटी संकलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिनुभयो । सबैभन्दा बढी वैशाखमा ६९ लाख ३२ हजार चार सय रुपैयाँ संकलन हुँदा सबैभन्दा कम असोज महिनामा ४ लाख ११ हजार १५१ रुपैयाँ संकलन भएको छ ।