काठमाडौं । चर्चित गायक तथा निर्देशक प्रकाश सपुतले आफूमाथि अझै पनि जातीय दृष्टिकोण लिएर प्रहार हुने गरेको बताउनुभएको छ । सामाजिक संरचना र मानिसहरुको व्यवहारमा सुधार आएको भए पनि अझै पर्याप्त नभएको गुनासो गर्दै सपुतले आफ्ना हरेक गीत तथा सीर्जनामाथि प्रश्न उठाउनेमध्ये कतिपयले कलाभन्दा पनि आफ्नो पृष्ठभूमि हेरेर प्रश्न गर्ने आफूलाई लाग्ने बताउनुभयो ।
कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम 'फायरसाइड'को आज राति प्रसारण हुने अंकमा कुरा गर्दै सपुतले यस्तो गुनासो गर्नुभयो । केही साताअघि एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा आफूले बोलेको विषयलाई लिएर सामाजिक सञ्जालमा आएका आक्रामक प्रतिक्रियाका कारण आफ्नो मनस्थिति नै खलबलिएको अनुभव उहाँले सुनाउनुभयो ।
राजनीतिक नेतृत्वको असफलताका कारण उब्जिएको असन्तुष्टि सामाजिक सञ्जालमा अराजकताका रुपमा प्रकट भएको उल्लेख गर्दै सपुतले समाजले सञ्जालको सकारात्मक प्रयोगमा ध्यान दिन सुझाउनुभयो ।
सपुतले कार्यक्रममा आफ्नो बाल्यकाल र संघर्षका दिनदेखि सफलतासम्मको कथाका साथै आफूले भोगेका विभेदका बारेमा खुलेर कुराकानी गर्नुभएको छ । सपुतसँगको पूरा अन्तर्वार्ता कार्यक्रम फायरसाइडमा आज राति ९ बजे प्रसारण हुनेछ । साथै कान्तिपुर टेलिभिजनको युट्युब च्यानल र कान्तिपुर टिभी एपमा पनि कार्यक्रम हेर्न सकिनेछ ।