नयाँ वाणिज्य नीति : व्यापार सन्तुलन नै चुनौती

माघ १२, २०८१ |सुमन पन्थ
नयाँ वाणिज्य नीति : व्यापार सन्तुलन नै चुनौती

काठमाडौं । गत वर्ष नेपालले १५ खर्ब ९२ अर्बको वस्तु आयात गर्दा १ खर्ब ५२ अर्बको वस्तु निर्यात गर्‍यो । अपेक्षाकृत निर्यात बढ्न नसके पनि वस्तु आयात घटेको छैन । अहिले अल्पविकसीत मुलक रहँदा अमेरिकादेखि युरोपसम्मले नेपालमा उत्पादन भएका बस्तुलाई शून्य भन्सारसुविधा दिएका छन् । यो सुविधा कटौती भए अहिले भइरहेको निर्यात समेत प्रभावित हुनसक्ने दाबी उद्योगी व्यवसायीको छ । उत्पादन लागत घटाउन नसके नेपाली वस्तुले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने छैनन् । यसतर्फ सरकारले अहिलेदेखि नै पहल गर्नुपर्ने काठमाडौं उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठको सुझाव छ ।

सरकारले भने भविष्यमा आइपर्ने चुनौती सामना गर्न ८ वर्षअघिको वाणिज्य नीति परिवर्तन गरेर काम सुरु गरिसकेको दाबी गरेको छ ।अन्तर्राष्ट्रिय व्यापारको लागत कम गर्न वैकल्पिक पारवहन मार्ग थप गर्ने गरी नेपाल-भारतबीचको पारवहन सन्धि पुनरावलोकन र चीनसाग भएका पारवहन ढुवानी सम्झौता तथा प्रोटोकल बमोजिम पारवाहन सुविधा उपयोग गर्नेसम्मका विषय नीतिमा राखिएको छ । यसले आन्तरिक उत्पादनको निर्यात बढाउन सहज हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव देवराज जोशीको दाबी छ ।

निजी क्षेत्र र विज्ञले भने सरकारले नीति मात्र बनाएर नहुने भन्दै कार्यान्वयन गर्न सहज वातावरण बनाउनुपर्ने बताएका छन् । उत्पादन बढाउने र लागत घटाउने रणनीति सरकारले बनाइदिनुपर्ने नेपाली तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेको भनाइ छ ।

नेपालले अन्तर्राष्ट्रिय व्यापारमा सन्तुलन कायम गर्न सकेको छैन । बर्सेनि बढिरहेको व्यापार घाटाले पनि अर्थतन्त्रलाई अप्ठ्यारो पारिरहेको छ । अब विकासशील मुलुकमा स्तरोन्नति भएसँगै निर्यात बढाउन थप चुनौती छ । यो अवस्थामा व्यापार तथा लगानीका लागि प्रमुख आकर्षक मुलुकहरूसँग स्वतन्त्र व्यापार सम्झौता गर्दै उत्पादन लागत घटाउन नसक्ने हो भने व्यापार सन्तुलन कायम गर्न कठिन हुन सक्छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement