काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले कोलम्बियाबाट आयात हुने सम्पूर्ण वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ ।
आप्रवासी बोकेका दुई वटा अमेरिकी सैन्य जहाजलाई फिर्ता पठाइदिएपछि राष्ट्रपति ट्रम्पले कोलम्बियाबाट आयात हुने सम्पूर्ण वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको हो । अमेरिकाले कोलम्बियाका सरकारी अधिकारीमाथि पनि भिसा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । २५ प्रतिशत आयात करको दर एक सातामा ५० प्रतिशतसम्म पुग्ने बताइएको छ ।
जवाफमा कोलम्बियाका राष्ट्रपति गुस्तावो पेट्रोले पनि अमेरिकाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ । आप्रवासी अपराधी नभएको जिकिर गर्दै पेट्रोले सैन्य विमानमार्फत् उनीहरुलाई पठाउन नहुने भन्दै उक्त विमानलाई फिर्ता पठाउन निर्देशन दिनुभएको थियो ।
लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् तत्काल निर्णायक प्रतिशोधात्मक उपाय घोषणा गर्दै कोलम्बियाली सरकारी अधिकारी, सहयोगी र समर्थकमाथि यात्रा प्रतिबन्धदेखि भिसा खारेजसम्मका घोषणा गर्नुभएको थियो ।
जवाफमा प्रतिबन्ध लगाउने विषयले आफू त्रसित नभएको राष्ट्रपति पेट्रोले बताउनुभयो । कोलम्बियामा १५ हजारभन्दा बढी अमेरिकी नागरिक अवैध रुपमा बसोबास गर्दै आएको तर आफ्नो सरकारले उनीहरुलाई फिर्ता नपठाउने पेट्रोको भनाइ छ ।
कोलम्बियाबाट अमेरिकाले २० प्रतिशत कफी अयात गर्छ भने करिब २ अर्ब डलरबराबरको केरा, क्रुड ओयल, एभाकाडो र फूल आयात गर्ने गरेको छ ।