स्पेनिस लिग ला-लिगामा बार्सिलोनाको सानदार पुनरागमन

माघ १४, २०८१ |खेल ब्युरो
स्पेनिस लिग ला-लिगामा बार्सिलोनाको सानदार पुनरागमन

काठमाडौं । स्पेनिस लिग ला-लिगा फुटबलमा बार्सिलोनाले गोलको वर्षा गर्दै भ्यालेन्सियालाई ७-१ गोलको विशाल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा बार्साको यो पछिल्ला पाँच खेलमा पहिलो जित हो ।

गएराति भएको खेलमा बार्सिलोनाले सुरुवाती २४ मिनेटमै ४ गोल गरेको थियो । यो नतिजासँगै बार्सिलोनाले दोस्रो स्थानको एटलेटिको मड्रिडसँगको अंक दूरी ३ अंकमा सीमित गरेको छ । तेस्रो मिनेटमै लामिन यामालको क्रसमा फ्रेन्की डे जोङले गोल गर्दै बार्सालाई अग्रता दिलाए । पाँच मिनेटपछि फेरान टोरेसले एलेजान्ड्रो बाल्डेको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । राफिन्हाले १४औँ मिनेटमा टिमका लागि तेस्रो गोल गरे । जारी सिजन बार्सिलोनाका लागि राफिन्हाको यो १२औँ गोल हो ।

२४औँ मिनेटमा फर्मिन लोपेजले गोल गरेपछि बार्सिलोनाले २४ मिनेटको अन्तरालमै चार-शून्यको अग्रता हात पार्‍यो । पहिलो हाफको अतिरिक्त समयमा लोपेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सा मध्यान्तरअघि पाँच-शून्यले अघि रह्यो । ५९औँ मिनेटमा हृयुगो डुरोले भ्यालेन्सियाका लागि सान्त्वना गोल फर्काए ।

६६औँ मिनेटमा रोबट लेवान्डोस्कीले बार्साका लागि छैटौँ गोल थपे । ७५औँ मिनेटमा बार्सिलोनाले एक आत्मघाती गोल उपहार पायो । सिजर तारेगाले क्लियर गर्न खोज्दा बलले पोस्टको दिशा लिएको थियो ।

जितसँगै बार्सिलोनाको २१ खेलबाट ४२ अंक भएको छ भने दोस्रो स्थानको एट्लेटिको मड्रिडसँगको दूरी ३ अंकमा झरेको छ ।

दोस्रो स्थानको एट्लेटिकोको ४५ अंक छ भने शीर्ष स्थानको रियाल मड्रिडको समान खेलबाट ४९ अंक छ । पराजित भ्यालेन्सिया २१ खेलमा ३ जितसहित १६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।



Enter Kantipur TV HD
Advertisement