भारतमा भएको रेल दुर्घटनामा अछामका एकै परिवारका तीन जनाको मृत्यु

मृतक १३ मध्ये ७ जना नेपाली
माघ ११, २०८१ |खम्म खत्री
भारतमा भएको रेल दुर्घटनामा अछामका एकै परिवारका तीन जनाको मृत्यु

अछाम । भारतको महाराष्ट्रस्थित जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा भएको रेल दुर्घटनामा परी एकै परिवारका तीन जना नेपालीको ज्यान गएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा र छोरा हिमुको उक्त दुर्घटनामा ज्यान गएको हो ।

यस्तै अछामकै कलबजार नगरपालिका-४ चाल्साकी ६० वर्षीया जयकला कामीको पनि उक्त दुर्घटनामा मृत्यु भएको छ । कुल १३ जनाको मृत्यु भएकामा अछामका ४ सहित ७ जना नेपाली रहेका छन् ।

मृतक अन्य नेपालीहरूमा कैलालीको मोहन्याल गाउँपालिका-६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारी, डुडुवा बाँकेका राधेश्याम राध र नारायणपुर मात्र ठेगाना खुलेका लच्छिराम पासी छन् ।

बुधबार साँझ उत्तरप्रदेशको लखनउबाट मुम्बइतर्फ गइरहेको पुष्पक एक्सप्रेसको रेलको एउटा डब्बामा आगो लागेको झुटो हल्ला फैलिएपछि आत्तिएका यात्रुहरू हामफाल्दा विपरीत दिशाबाट आइरहेको कर्नाटक एक्सप्रेसले उनीहरूलाई किचेको थियो ।


Image

खम्म खत्री

खत्री कान्तिपुर टेलिभिजनका अछाम संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement