काठमाडौं । पटकपटक बहसमा आउने प्रश्न हो, दोष प्रणालीमा हो कि प्रयोगमा ? निर्वाचन प्रणाली त्यस्तै एक प्रश्न हो । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले निर्वाचन प्रणालीकै कारण राजनीतिक स्थिरता कायम हुन नसकेको भन्दै अब परिवर्तन गर्नुपर्ने बताइरहेका छन् । अरु दल अलमलमै छन् । कुनै पनि दलले कस्तो निर्वाचन प्रणाली अबलम्बन गर्ने भन्ने ठोस धारणा सार्वजनिक गर्न सकेका छैनन् । निर्वाचन प्रणालीका कारण कहाँ कस्तो अप्ठ्यारो परेको हो भन्ने बारे पनि कसैले अध्ययन गरेकै छैन । आखिर किन उठिरहेको छ त निर्वाचन प्रणाली परिवर्तनको बहस ?
राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने सहमति गरेका कांग्रेस र एमालेले संविधानका कुन प्रावधान संशोधन गर्ने भनेर स्पष्ट पारेका छैनन् । बरु नेताहरु भने आफूखुसी निर्वाचन प्रणालीलाई नै दोष देखाएर संशोधन गर्नुपर्ने भनिरहेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शनिबार उठाएको प्रश्न नै यहि हो- निर्वाचन प्रणालीमा कमजोरी छ भनेर कसले अध्ययन गरेको छ ?
दलका नेताहरु पनि आफूखुसी प्रणालीमाथि प्रश्न उठाइरहेका छन्। कतिसम्म भने एमालेका महासचिव शंकर पोखरेलले त अब दुई दलीय व्यवस्थामा जानुपर्नेसम्मका अभिव्यक्ति दिनुभएको छ । निर्वाचन प्रणाली कस्तो बनाउने भनेर एमाले कांग्रेसले नै न औपचारिक निर्णय गरेको छ, न त छलफल नै चलाएको छ ।
निर्वाचन प्रणालीकै कारण राजनीतिक अस्थिरता कसरी सिर्जना भयो भन्नेमा दलहरुले अध्ययन गरेका छैनन् । नेताहरुले भने आ-आफ्नो स्वार्थअनुसार नै सार्वजनिक मञ्चमा आफ्ना तर्क राखिरहेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि सार्वजनिक रुपमै राजनीतिक अस्थिरताका लागि अब लोकप्रिय मत जसले बढी ल्याउँछ उसैलाई पाँच वर्षसम्म सरकार सञ्चालन गर्न दिनुपर्ने तर्क गर्नुभएको छ । तर उहाँले पनि निर्वाचन प्रणाली कस्तो बनाउने भन्ने स्पष्ट पार्नुभएको छैन ।
कतै महामन्त्री थापाले प्रत्यक्ष निर्वाचित कार्यकारीको त कुरा गर्नु भएको होइन भन्ने प्रश्न पनि उठिरहेको छ । तर कांग्रेसका औपचारिक फोरमहरुमा प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा उठेको छैन । निर्वाचन प्रणाली परिवर्तनका बारेमा नै कांग्रेसले पनि कुनै अध्ययन गरेको छैन न त आधिकारिक धारणा नै सार्वजनिक गरेको छ । बरु नेताहरु निर्वाचन प्रणालीलाई दोष देखाउन छाडेका छैनन् ।
‘कांग्रेसको आधिकारिक धारणा सार्वजनिक भएको छैन् । यस विषयमा हाम्रो पार्टीमा आवश्यक छलफल पनि भएको छैन,’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शमशेर राणाले भन्नुभयो ।
कांग्रेस यसमा स्पष्ट छैन भन्ने त उपसभापति पूर्णबहादुर खड्काको पछिल्लो भनाइले पनि देखाउँछ । ‘हामीले निर्वाचन प्रणालीमा हात हाल्दा समानुपातिक प्रतिनिधित्वको वर्तमान संविधानको जुन प्रतिशतको ग्यारेन्टी छ त्यो बाट एक इन्च पनि पछि हट्न सक्दैनौं, ’ केहि दिन अघि खड्काले भन्नुभएको थियो ।
कांग्रेस र एमालेका नेताहरुले निर्वाचन प्रणाली परिवर्तनको कुरा उठाइरहेपछि नेकपा माओवादी केन्द्रका नेताहरु पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा खुलेर वकालत गर्न थालेका छन् । कांग्रेस र एमालेले समानुपातिक प्रणाली परिवर्तन गर्न चाहेकाले आफूहरुले प्रत्यक्ष कार्यकारीको कुरा निकालेको नेकपा माओवादी केन्द्र उपमहासचिव जनार्दन शर्मा बताउनु हुन्छ ।
निर्वाचन प्रणाली परिवर्तन गर्ने बहस चलिरहँदा यो प्रणालीका सवल र दुर्वल पक्षको अध्ययन भएको छैन । निकै लामो छलफल र बहसपछि संविधानमा राखिएको यो व्यवस्थामा अहिले ठूला दलहरु फेरि परिवर्तनको बहसमा उत्रिरहेका बेला अरु दल पनि अलमलमा छन् । जानकारहरुले भने अध्ययन विनै अहिले भइरहेको निर्वाचन प्रणाली परिवर्तनको बहसलाई नै अनावश्यक ठानेका छन् ।
देश विकासका लागि धेरै विषय ठीकठाक चल्नुपर्छ । त्यसमध्येको प्रमुख राजनीति नै हो । राजनीति ठीक चल्न नीति, नैतिकता र नेतृत्व सबल चाहिन्छ । नेतृत्वले आफूलाई सुधार गर्नुको साटो प्रणालीलाई दोष देखाएर पन्छिने प्रवृत्ति नै सबैभन्दा घातक हुनसक्छ ।
हाम्रो निर्वाचन प्रणाली कस्तो हो ? यो रिपोर्टमा हेरौं