प्रतिनिधि सभा विघटनविरूद्ध अदालत पुगे कांग्रेसका सांसद, पार्टीभित्रै पदाधिकारीहरूकाे विराेध

मंसिर २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभा विघटनविरूद्ध अदालत पुगे कांग्रेसका सांसद, पार्टीभित्रै पदाधिकारीहरूकाे विराेध

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको दुई दिनपछि कांग्रेसका केही सांसद सभापति देउवाका निकटस्थ कानुन व्यवसायी खम्मबहादुर खातीलाई लिएर प्रतिनिधि सभा विघटनविरूद्ध अदालत पुगेका छन् ।

विघटित प्रतिनिधि सभाका कांग्रेस प्रमुख सचेतक र सचेतकसहितको टोलीले प्रतिनिधि सभा विघटनविरूद्धको सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको हो । यसअघि कांग्रेस केन्द्रीय समितिको बैठकले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको ठहर गरेको थियो । कांग्रेस बैठकले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा भने भाग लिने निर्णयसमेत गरेको थियो ।

तर, कांग्रेस पदाधिकारी तथा नेताहरूले भने अदालत गएको विषयको विरोध गरेका छन् । महामन्त्री गगन थापाले यो निर्णय पार्टीको नभएको उल्लेख गर्दै यो नेताहरूको व्यक्तिगत विषय भएको बताउनुभयो । निर्वाचन नै अहिलेको समस्याको समाधान भएको उहाँको भनाइ छ ।

नेता शेखर कोइरालाले पनि आफूले समाचार हेरेर जानकारी पाएको र यसबारे अनविज्ञ रहेको बताउनुभएको छ । केन्द्रीय सदस्य नैनसिंह महरले रिट दायर गर्ने निर्णय कांग्रेसले नगरेको र गर्न पनि नसक्ने भन्दै विरोध गर्नुभएको छ । यसअघि नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर सर्वोच्चमा रिट निवेदन दिइसकेको छ । 

योसँगै सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनसम्बन्धी दुई राजनीतिक दलसहित सार्वजनिक सरोकारअन्तर्गत १७ थान रिट दर्ता भएर विचाराधीन छन् । सर्वोच्चले यसअघि दर्ता भएका सबै रिटहरुलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश गरिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.