काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिले दिएको सुझाव कार्यान्वयन गर्ने क्रममा प्रहरीले पहिलो चरणमा पाँच सहकारी संस्थामाथि छानबिन गरेको थियो । यी पाँचवटै सहकारीको रकम हिनामिनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राईसहित पूर्वप्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता देखिएको छ । त्यसमध्ये अहिलेसम्म कास्कीको सूर्यदर्शन र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दा अदालतमा दर्ता भएका हुन् ।
यी दुवै मुद्दामा अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई धरौटी छाडेको छ । जीबी राई हालसम्म फरार रहे पनि अर्का संचालक छविलाल जोशीसहितलाई पनि कास्की जिल्ला अदालतले धरौटीमा छाडेको छ । जीबी, रवि र छविसहितको संलग्नता देखिएका अन्य तीन जिल्लाका सहकारीहरुको अनुसन्धान कहाँ पुग्यो त ?
सहकारीको रकम अपचलनमा मुछिएका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका रास्वपाका सभापति रवि लामिछाने कास्कीको सूर्यदर्शन सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा धरौटीमा रिहा हुनुभएको छ । कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी राखेर उहाँ रिहा हुनुभएको हो । अब उहाँ संलग्न रहेका चितवनको सहारा, पर्साको सानो पाइला र बुटवलको सुप्रिम सहकारीको मुद्दा बाँकी छ ।
बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले छानबिन गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाइसकेको छ । सरकारी वकिलले थप अभियोगपत्र जिल्ला अदालतमा दर्ता गर्न बिहीबार नै बुझाइसकेको छ । गोर्खा मिडियाका अध्यक्ष जीबी राई पहिले नै मुद्दा दर्ता भइसकेको अवस्था छ भने रवि लामिछाने र छविलाल जोशीलगायतलाई प्रतिवादी बनाइएको पुरक अभियोजन पनि तयारी अवस्थामा छ । थप अभियोग दर्ता भएलगत्तै पुरक अभियोगपत्र दर्ता गरिने सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलले जानकारी दिनुभएको छ ।
सुप्रिमबाट रविको नाममा २ करोड ऋण प्रवाह भएको खुलेको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनमा सुप्रिम सहकारी प्रकरणमा १ अर्ब १२ करोड विगो दाबी गर्नुपर्ने राय पेश गरिएको छ भने रवि र छविबाट मात्रै ८ करोडभन्दा बढी बिगो भराउनुपर्ने प्रहरीको निष्कर्ष छ ।
चितवनको साहारा सहकारीको रकम हिनामिना प्रकरणको पुरक मुद्दाका लागि पनि प्रहरीले शुक्रबार मात्रै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यलय चितवनमा बुझाईसकेको छ । पहिलो चरणमा १७ जनालाई प्रतिवादी बनाएको प्रहरीले थप १४ जनालाई प्रतिवादी बनाएर कुल ३१ जनालाई ४३ करोड भन्दा बढि बिगो मागदाबि सहित मुद्दा चलाउन राय दिएको छ ।
पर्साको सानो पाइला सहकारीको रकम पनि गोर्खा मिडिया नेटवर्कमा आएको खुलेपछि सञ्चालकको हैसियतमा रवि र छविलाई प्रतिवादी बनाउने तयारी छ । तेस्रो चरणको पुरक अभियोगको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको प्रहरीले रवि र छविलालसहित पाँच जनासँग बयान लिइसकेको छ ।
यो पनि हेर्नुहोस :
अदालतमा आफैँ उपस्थित हुने भनेर पोखराबाट छुटेका छवि फरार
काठमाडौं अदालत भन्छ– लामिछानेले गोर्खा मिडियाको शेयर किनेको देखियो
सहकारी ठगी प्रकरण : सूर्यदर्शन बाहेक अन्य सहकारीको अनुसन्धान कहाँ पुग्यो ?