काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितलाई धरौटीमा रिहा गरेपनि अन्य चार जिल्लाको मुद्दा बाँकी नै छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रविसहितलाई विपक्षी बनाएर मुद्दा दायर भइसकेको छ भने अन्य तीन जिल्लाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनपछि प्रहरीले पाँचवटा सहकारीमाथि एकसाथ अनुसन्धान मुद्दा अघि बढाइरहेको हो ।
१ अर्ब ५१ करोड विगो सहित पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पुस ७ गते दोस्रो चरणको मुद्दा दायर भएको थियो । पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्व डीआइजी छविलाल जोशीसहितका ७ जना आरोपी धरौटी बुझाएर रिहा भइसकेका छन् । तर, लामिछाने र जोशीविरुद्ध अन्य चार सहकारीको मुद्दा बाँकी नै छ। सम्पत्ति शुद्धिकरण र संगठित अपराधको कसुरमा जिल्ला प्रहरी कास्कीको हिरासतमा रहेकै बेला लामिछाने र जोशी दुवैजनाको अन्य चार जिल्लामा बयान भइसकेको छ ।
चितवनको साहारा, पर्साको सानो पाइला, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम पनि गोर्खा मिडिया नेटवर्कमा आएको भन्दै जोशी र लामिछानेको बयान गराइएको थियो । कारागारमै रहेका कुमार रम्तेलको पनि बयान लिइएको छ । बाँकी चार सहकारीमध्ये काठमाडौंको स्वर्णलक्ष्मीको मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर भइसकेको छ, जहाँ पक्राउ परेका दुईजना धरौटीमा रिहा भइसकेका छन् । ३९ जनालाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दाको अभियोगपत्रमा १ अर्ब १९ करोड विगो दाबी गरिएको छ ।
अभियोगपत्रमा जीबी राईलाई ६१ करोड ७१ लाख विगो भराउनु पर्ने माग गरिएको छ भने, रवि लामिछानेविरुद्ध गोर्खा मिडिया ग्रुपमा कानुन विपरीत लगाइएको ५ करोड ८ लाख विगो भराउनु पर्ने दाबी गरिएको छ। छविलाल जोशीलाई छुट्टै ५ करोड ७८ लाख भराउन माग गरिएको छ । ठगी र संगठित अपराधअन्तर्गत प्रतिवादी बनाइएका छविलाल र लामिछानेले कास्कीमा जस्तै काठमाडौंमा पनि पुर्पक्षका लागि थुनामा राख्ने वा नराख्ने विषयमा बहसका लागि अदालतमा उपस्थित हुनुपर्नेछ।
त्यस्तै, बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनमा पनि प्रहरीले दोस्रो चरणको अनुसन्धान सकेको छ। पहिलो चरणमा २८ जनालाई प्रतिवादी बनाइएकोमा दोस्रो चरणको अनुसन्धानमा थप १४ जना आरोपी छन्। सुप्रिमबाट रविको नाममा २ करोड ऋण प्रवाह भएको खुलेको थियो। रुपन्देही प्रहरीले १ अर्ब १२ करोड विगो दाबी गर्नुपर्ने रायसहित सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ जसमा रवि र छविबाट मात्रै ८ करोडभन्दा बढी बिगो भराउनुपर्ने उल्लेख छ।
प्रहरीले बुझाएको दोस्रो अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ । उक्त मुद्दामा पनि रवि र छविलाल दुवैजना अदालतको बयान र थुनछेक बहसमा उपस्थित हुनुपर्नेछ।
यता, चितवनको साहारा सहकारीमा पुरक मुद्दाका लागि अनुसन्धान पूरा भइसकेको छ । पहिलो अभियोगमा १७ जनालाई प्रतिवादी बनाएको प्रहरीले यसपटक १० जना थप गरेर ४३ करोड १४ लाख बिगोसहित मुद्दा चलाउन राय दिने भएको छ ।
पर्साको सानो पाइला सहकारीको रकम पनि गोर्खा मिडिया नेटवर्कमा आएको खुलेपछि संचालकको हैसियतमा छविलाल र रविलाई प्रतिवादी बनाउने तयारी भएको छ । तेस्रो चरणको पुरक अभियोगको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिएको प्रहरीले रवि र छविलालसहित पाँचजनासँग बयान लिइसकेको छ।
अहिले मुद्दा चलिरहेको सबै सहकारीको रकम हिनामिनाको मुख्य आरोपी जीबी राई हुन्, जो फरार छन् । जीबीले आफ्ना दर्जनभन्दा बढी निजी कम्पनीहरूमा सहकारीका बचतकर्ताको करोडौं रकम अपचलन गरेका छन् । राईको राहदानी रद्द गरी इन्टरपोलमार्फत रेड नोटिस जारी भइसकेको छ।
जीबी, छवि र रवि संचालक रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न पाँचवटा सहकारीबाट रकम गएको छ । संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा गोर्खा मिडिया नेटवर्कमा मात्रै यसरी ६५ करोड आएको उल्लेख छ ।
सम्बन्धित समाचार :