काठमाडौं अदालत भन्छ– लामिछानेले गोर्खा मिडियाको शेयर किनेको देखियो

माघ ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं अदालत भन्छ– लामिछानेले गोर्खा मिडियाको शेयर किनेको देखियो

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा खेपिरहेका पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६० लाख रुपैयाँ धरौटीमा रिहा हुनुभएको छ । काठमाडौं जिल्ला अदालतले हिजो लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । गत आइतबार अदालतमा उपस्थित भएका लामिछानेको यसबीचमा बयान र थुनछेक बहस भएको थियो ।

अदालतको आदेशमा लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिको बिक्रीमा रहेको एक लाख ८० हजार थान शेयर खरिद गर्न निवेदन दिएको देखिएको उल्लेख छ । आदेशमा लामिछानेले गोर्खा मिडियाको प्रबन्ध निर्देशक मात्र नभई शेयर खरिद गरी लिएको देखिएको भनिएको छ । लामिछानेले भने उक्त शेयर 'स्वेट शेयर' मार्फत् लिएको बयान दिनुभएको थियो । तर उहाँले शेयर खरिद गरेको प्रमाण उल्लेख रहेको अदालतले आदेशमा लेखेको छ ।

लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा मिडिया प्रालिको खातामा आएको रकमका बारेमा आफूलाई केही थाहा नभएको बयान दिनुभएको थियो । गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी सहकारीबाट पाँच करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धानले देखाएको छ । लामिछानेमाथि स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेको आरोप छ ।

विभिन्न जिल्लामा रहेका सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा लामिछानेलाई प्रहरीले गत कात्तिक २ गते पक्राउ गरेर कास्की लगेको थियो । कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछानेमाथि रूपन्देही, चितवन र पर्सामा पनि सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।

यसैबीच वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमै हातपात भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछाने विरुद्ध जाहेरी पक्षका तर्फबाट बहस गरेर फर्कने क्रममा उहाँमाथि हातपात भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement