जंगलै जंगलबीचमा लुकेको एउटा गाउँ

माघ ४, २०८१ |केदार शिवाकोटी
जंगलै जंगलबीचमा लुकेको एउटा गाउँ

दोलखा । दोलखाको विगु र गौरीशंकर गाउँपालिकाको चट्टानी भीर छिचोलेर रिकु गाउँ पुग्न निकै कठिन छ । यहि भीरमा अहिले २ मिटरको रिकु पुग्ने पैदलमार्ग बनिरहेको छ । तर जंगलै जंगलको बीचमा रहेको रिकु गाउँ कस्तो छ, धेरैलाई पत्तो छैन ।

वारी माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँधस्थल लामाबगर जाने सडक छ । पारी अनकन्टार भीर । त्यही भीर छिचोलेपछि केहि तल रिकु गाउँ छ । यहि भीरको बाटो भएर रिकुका स्थानीय लामाबगर आउजाउ गर्छन् । रिकु पुग्न सडक छैन, भीरको बाटो छिचोल्नु पर्छ ।

रिकुको अर्थ ९ वटा जंगलले घेरिएको गाउँ हो । अनकन्टार यो गाउँका दुःख धेरै छन् । कुनै समय तुईनबाट तामाकोसी नाघेर गाउँ आउजाउ गनुपथ्र्याे । तुईनबाट खसेर धेरैले ज्यान गुमाए । तर धन्य अहिले तुईन विस्थापित भएर झोलुङ्गे पुल बनेको छ । ‘गाडी छैन, सकेपनि नसकेपनि हिड्नु पर्छ । म कति पटक बिरामी परे । बोकेर अस्पताल लग्नुपर्छ,’ रिकुका स्थानीय पनमाया तामाङ खड्काले गुनासो गर्नुभयो ।

दोलखाको गौरीशंकर- ९ रिकुमा चिटिक्क परेका २२ घर धुरीछन् । कुनै समय रोल्वालिङ खोलाको पानी पिउनुपर्ने रिकुमा ३ हजार ३ सय मिटर माथिबाट खानेपानी ल्याईएको छ । ‘पानीको दुःख त हजुर हामीलाई कति कति तल कोशीबाट ल्याएर पानी खान्छौं हामी,’ रिकु दोलखाका स्थानीय भीमबहादुर खड्काले भन्नुभयो ।

हेलिकप्टरबाट रोल्वालिङ खोला जलविद्युत आयोजना बनाउन रिकुमा डोजर लगिएको छ । गाउँतिर विकास आयो । तर भएको ३ कक्षासम्मको विद्यालय भने बालबालिका नभएपछि बन्द भएको छ ।

च्छो-रोल्पा जाने रिकुको भीरमा २ मिटरको चौडा पैदलमार्ग बनिरहेको छ । यहि पैदलमार्गले रिकुको भविष्य कोरिनेमा स्थानीय आशावादी छन् ।

छ्योछ्योतबाट बनेको पैदलमार्ग गएको असोजमा बाढी बगाएपछि भीरमा झुण्डीएर हिडनुपर्ने वाध्यता छ । गाउामा कोही बिरामी परिहाले निकै कठिन यात्रा गरेर स्वास्थ्य संस्था पुग्नुपर्ने वाध्यता छ । रिकु भीर छिचोलिएपछि भने पैदलमार्गले रिकुलाई नयाँ पर्यटकीय गाउँ बनाउने स्थानीय बताउँछन् ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement