काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको मुद्दा लागेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतको आदेशमा ६० लाख रुपैयाँ धरौटी राखेर रिहा भए पनि त्यही आरोप लागेका पूर्वडीआईजी छविलाल जोशी भने सम्पर्कविहीन हुनुहुन्छ । कास्की जिल्ला अदालतबाट सँगै धरौटीमा रिहा भएका लामिछाने काठमाडौं अदालतमा उपस्थित हुनुभयो तर जोशी न अदालत पुग्नुभएको छ न त प्रहरीको सम्पर्कमा । जबकी दुवै जनालाई प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिएको थियो ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको मुद्दा खेपिरहेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी अदालतमा हाजिर हुनुभएको छैन । सरकारले प्रतिशोध साँधेको आरोप लाग्न थालेपछि गृह प्रशासनले रास्वपा सभापति लामिछानेसहित जोशीलाई पनि बाहिरै रहेर काठमाडौं जिल्ला अदालतमा हाजिर हुने सुविधा दिएको थियो ।
लामिछानेले आफू शुक्रबार नै अदालतमा हाजिर हुने भने पनि आइतबार मात्र पुग्नुभयो । तर अर्का अभियुक्त जोशी चाहिँ बिहीबारसम्म उपस्थित हुनुभएको छैन । काठमाडौं जिल्ला अदालतका निमित्त श्रेस्तेदार एवम् फैसला कार्यान्वयन अधिकारी धनबहादुर कार्कीका अनुसार कानुनको नजरमा उहाँ फरार अभियुक्त हुनुभएको छ ।
जोशीमाथि मुद्दा दायर भइसकेको र अदालतले पक्राउ पूर्जीसमेत जारी गरिसकेको अवस्थामा पनि उहाँ पक्राउ पर्नुभएको छैन । बरु उल्टै गृह प्रशासनलाई नै गुमराहमा राखेर सम्पर्कविहीन हुनुहुन्छ । पक्राउ पूर्जी जारी भइसक्दा पनि अभियुक्तहरु कसरी हिरासतबाहिरै रहन्छन् त ? भन्ने प्रश्नमा जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्ले भन्नुहुन्छ- अदालतले उहाँहरूको हकमा पक्राउ गरेर उपस्थित गराउने भन्ने आदेश नदिएको हुँदा प्रहरीले समातेर उपस्थित गराउन नसकेको अवस्था हो ।
कास्की जिल्ला अदालतमा प्रहरीले मुद्दा पेश गर्दा नै रवि र छवि छुटिजाने अवस्थामा पुनः प्रहरीकै जिम्मा दिन माग गरेको थियो । तर, अन्य जिल्लाका मुद्दाका सम्बन्धमा आफैँ उपस्थित हुने सर्तमा उहाँहरू रिहा हुनुभएको थियो । अदालतमा उपस्थित नभएको बारेमा अब गृह प्रशासनले नै जवाफ दिनुपर्ने छ । गृह प्रशासनले आफैं हाजिर हुने सुविधा दिए पनि प्रतिवादी उपस्थित नहुनुले आगामी दिनमा यस्तो सुविधामा पुनर्विचार गर्नुपर्ने देखिएको छ ।