सूर्यदर्शन सहकारी ठगी प्रकरण : सातमध्ये ६ जना धरौटी बुझाएर रिहा, लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने

पुस २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
सूर्यदर्शन सहकारी ठगी प्रकरण : सातमध्ये ६ जना धरौटी बुझाएर रिहा, लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने

कास्की । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दा लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने सहित सात जनालाई कास्की जिल्ला अदालतले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतको आदेशसँगै लामिछाने सहित ६ जना अदालतमा धरौटी बुझाएर रिहा भएका छन् ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनको हिरासत बसाइपछि अदालतले तोकेको ६५ लाख धरौटी बुझाएर हिजो साँझ रिहा भएका हुन् । अन्य जिल्ला अदालतमा दर्ता भएका मुद्दाको प्रक्रियाका लागि स्वयं उपस्थित हुने सर्तमा कास्की अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो । पोखरास्थित फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर प्रहरीले लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो ।

रिहा भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले सबैलाई धन्यवाद दिँदै कानुनप्रति आफ्नो विश्वास र सम्मान रहेको बताए । गत पुस ७ गते मुद्दा दायर भई पुस १६ गतेदेखि सुरू भएको थुकछेक बहसपछि हिजो न्यायाधीश नीतिज राईको इजलासले लामिछानेसँग ६५ लाख धरौटी माग गरेको थियो ।

न्यायाधीश राईको आदेशमा लामिछानेको एकल हस्ताक्षरमा ८१४ वटा चेक काटिएको, सूर्यदर्शन सहकारीको २ करोड जीबी राईको खातामा गएको र सोही रकममध्ये ७५ लाख लामिछानेको खातामा गएको देखिएकाले निर्दोष भन्न नसकिने उल्लेख गरिएको छ । जीबी राईको खाता मार्फत् रविकोमा आएको पैसा अन्यत्र पनि गएको प्रमाणका आधारमा अहिले नै कसुरदार रहेनछन् भन्न सकिने आधार नदेखिएकाले ६५ लाख धरौटी माग गरेको आदेशमा भनिएको छ ।

त्यस्तै गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीसँग पनि जीबी राईको कारोबार देखिएको र बैंकको कारोबार समेत हेर्दा निर्दोष भन्न नसकिने अदालतको आदेश छ । अदालतले छविलाल जोशीसँग ८८ लाख धरौटी माग गरेको छ । त्यस्तै पक्राउ परेका मध्ये जीबी राईको निकट मानिएकी लीला पछाईंलाई पनि बैंक कारोबारका आधारमा ३७ लाख धरौटी मागेको हो । छविलाल जोशीका सहयोगी रामबहादुर खनालले क्यासिनोमा गरेको लगानी देखिनु र सोही समयमा नेचरहर्व्समा पनि रकम आएको देखिएको अदालतको आदेशमा छ । खनालसँग १५ लाख धरौटी माग गरिएको छ ।

यसैगरी प्रतिवादीहरू कृष्णबहादुर गुरुङसँग १ लाख, पूर्व प्रदेश सांसद मीना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग भएको छ ।

सात प्रतिवादीमध्ये ६ जना धरौटी बुझाएर हिजै रिहा भएका छन् । रास्वपा सभापति लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, कृष्ण गुरुङ, मीना गुरुङ र आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् । लीला पछाईंले भने हिजो धरौटी बुझाउन सकेनन् ।

२०८० असारमा पोखरा महानगरपालिकाले गरेको छानबिनपछि सूर्यदर्शन सहकारीको रकम अपचलनमाथि अनुसन्धान सुरू भएको थियो । पहिलो चरणमा १९ जनालाई प्रतिवादी बनाइएको थियो भने गत पुस ७ गते थप ४४ जना समेत गरेर ६३ जनालाई प्रतिवादी बनाइएको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा महानगरपालिकाको छानबिन प्रतिवेदन बाहेक संसदीय छानबिन विशेष समितिले पनि गोर्खा मिडिया नेटवर्कमा आएको रकमबारे अनुसन्धान गर्न सुझाव दिएको थियो । सोही सुझाव सरकारले कार्यान्वयन गर्ने भन्दै असोज ६ गते छविलाल जोशी पक्राउ गरेर दोस्रो चरणको अनुसन्धान अगाडि बढाएको थियो ।

कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि रवि विरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा दायर भइसकेको छ । काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने सर्तमा रविलाई हिजो रिहा गरिएको हो । त्यस्तै चितवनस्थित सहारा, बुटवलको सुप्रिम र पर्साको सानो पाइला सहकारी ठगीका सम्बन्धमा पनि बयान भइसकेको छ । तर ती जिल्लामा मुद्दा अभियोजन हुन बाँकी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement