कानुन लत्याउँदै खोलाको पानी आयोजनामा

पुस २४, २०८१ |नवराज श्रेष्ठ|लक्ष्मी गौतम
कानुन लत्याउँदै खोलाको पानी आयोजनामा

काठमाडौं । जलविद्युत् आयोजनाले मापदण्ड विपरीत खोलाको पानी आयोजनामा फर्काएपछि रामेछाप र पाँचथरका स्थानीयको जीवन संकटमा परेको छ । वातावरण प्रभाव मूल्यांकन अनुसार जलविद्युत् आयोजनाले कम्तीमा १० देखि २० प्रतिशत पानी खोलामा छाड्नुपर्ने हुन्छ । तर रामेछापमा पान हिमाल इनर्जी र पाँचथरमा माउन्टेन हाइड्रोले सबै पानी सुरुङमा छिराउँदा खोलामा कमिला हिँड्छन् ।

रामेछापको उमाकुण्ड गाउँपालिका-१ गुम्देलस्थित हिमगंगा र लिखु खोलाको दोभानमा अवस्थित उत्तर काशी भनेर चिनिने उमातीर्थको अस्तित्व पान हिमाल इनर्जी लिमिटेडले निर्माण गरेको लिखु-१ जलविद्युत् आयोजनाका कारण संकटमा परेको छ । आयोजनाले कम्तीमा १० देखि २० प्रतिशतसम्म पानी खोलामा पठाउनुपर्ने हो । तर हिमगंगा र लिखु खोलाको पानी सुकाएर उमातीर्थमाथिबाट बाँध बाँधेर पूर्णरूपमा जलविद्युत् आयोजनामा फर्काइएको छ ।

आयोजनाले मापदण्ड विपरीत खोलाको पानी पूरै सुकाइदिँदा गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने यी ठाउँका मूलहरू सुकेका छन् । जलचर संकटमा परेका छन् भने वन्यजन्तु पानीका लागि भौँतारिन थालेका छन् । स्थानीयले प्रधानमन्त्री कार्यालयदेखि सम्बन्धित मन्त्रालय धाएर विद्युत् कम्पनीलाई कारबाहीका लागि निवेदन दिए पनि कुनै सुनुवाइ भएको छैन । आयोजनाकै कारण पानीको संकटले यी खोला किनारका बस्ती समेत विस्थापित हुने अवस्थामा पुगेका छन् ।

रामेछाप, सोलखुम्बु र ओखलढुंगाको सीमा भएर बग्ने लिखु खोलामा मात्रै ९ वटा जलविद्युत् आयोजना बनेका छन् । एकै खोलामा जलविद्युत् आयोजना बनाउँदा क्यास्केड आयोजना बनाउन अनुमति दिनुपर्नेमा सम्बन्धित निकायको गम्भीर लापरबाही देखिन्छ ।

उता पाँचथरमा बाढीले क्षति पुर्‍याएको माउन्टेन हाइड्रो सञ्चालनमा आएसँगै हेवा खोलामा अहिले कमिला कुद्न थालेका छन् । हाइड्रोपावर सञ्चालकले खोलामा पानी छोड्नुपर्ने कानुनी बन्देजलाई फेरि माउन्टेन हाइड्रोले लत्याएसँगै हेवा खोलाको फिदिम-४ र हिलिहाङ-७ क्षेत्रका जलचर, स्थलचर र उभयचरसँगै खेतीयोग्य जमिन पुनः जोखिममा परेको छ ।

हाइड्रो सञ्चालकहरूले पानी घट्दा खोलो नै सुकाएर पानी लैजाने अनि बाढी आउँदा ड्याम खोलिदिने गर्दा बर्सेनि ठूलो परिमाणको जनधन क्षति हुँदै आएको छ । स्थानीयले पानी पूरै नथुन्न अनुरोध गर्दा पनि हाइड्रो पावर सञ्चालकहरूले वास्ता नगरेको गुनासो स्थानीयको छ ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका राेछाप संवाददाता हुन् ।

Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement