काठमाडौं । निजी विद्यालयलाई गुठीमा राख्ने कि नराख्ने भन्ने विषयमा संसदीय समितिमा मतभेद भइरहेको बेला निजी विद्यालय सञ्चालकहरूले भने लगानी सुनिश्चित हुने गरी विद्यालय शिक्षा ऐन ल्याउन आग्रह गरेका छन् ।
निजी विद्यालयहरूका संस्था प्याब्सन, एनप्याब्सन र हिसानको आज बसेको संयुक्त बैठकले कम्पनी ऐन अन्तर्गत दर्ता भएर वर्षौंदेखि सञ्चालनमा रहेका विद्यालय निर्बाध सञ्चालन हुने गरी कानुन बनाउन सरकारलाई सुझाव दिएको हो ।
निजी लगानीमा सञ्चालित विद्यालय कुनै पनि हालतमा गुठीमा जान नसक्ने भन्दै प्रतिकूल ऐन आए आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् ।
निजी विद्यालयलाई जबर्जस्ती गुठीमा राख्ने गरी कानुन बनाइए पूँजी पलायन हुने र शिक्षाको गुणस्तरमा समेत नकारात्मक प्रभाव पर्ने निजी विद्यालयका सञ्चालकहरूको भनाइ छ ।