संसद् गतिरोध अन्त्यका लागि छलफलमा कांग्रेस-माओवादी

जेष्ठ २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसद् गतिरोध अन्त्यका लागि छलफलमा कांग्रेस-माओवादी

काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधि सभामा ५ दिनदेखि जारी गतिरोध अन्त्यका लागि सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल भइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेको हो । 

छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुहुन्छ । हिजो दुवै नेताबीच भएको छलफलमा सदनको अवरोध खोल्न समिति बनाएर जाने विषयमा सहमति नजिक पुगेको बताइएको थियो । हिजोको छलफलमा आइतबार १ बजेसम्म सदन स्थगित गरी सहमति खोज्ने समझदारी भएअनुरूप दुवै शीर्ष नेताले आज छलफल गरेका हुन् ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् । तर राजीनामाको विषयमा माओवादी केन्द्र पछि हटेको भए पनि रास्वपा नमान्दा सहमतिमा पुग्न नसकिएको माओवादी केन्द्रको भनाइ छ । 

नेकपा एमालेले भने छानबिन समिति पनि बन्न नसक्ने अडान यथावत् राखेको छ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसदको गतिरोधलाई लिएर भोलि संसद बस्नुअघि एकपक्षीय र दुई पक्षीय छलफल हुने जानकारी दिनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.