भूकम्पको केन्द्रबिन्दुबाट ३५ किलोमिटर टाढा रहेको किमाथाङ्कामा एक घरमा क्षति

पुस २३, २०८१ |दीपेन्द्र शाक्य
भूकम्पको केन्द्रबिन्दुबाट ३५ किलोमिटर टाढा रहेको किमाथाङ्कामा एक घरमा क्षति

संखुवासभा । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्रबिन्दु भएर आज बिहान ६ बजेर ५० मिनेटमा गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-१ किमाथाङ्कामा एक घर क्षति पुगेको छ । 

किमाथांका नाकाबाट करिब ३५ किलोमिटर टाढा केन्द्रबिन्दु भएर गएको भूकम्पले भोटखोला १ किमाथाङ्का तेनछबी भोटेको घर चर्किएको हो । जस्ता र ढुंगामाटोले बनेको २ तले घर क्षति भएको प्रहरीले जनाएको छ ।

पटकपटक भूकम्पले जमिन हल्लाएका कारण भोटखोलाको किमाथांकाबासी त्रसित रहेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताउनु भयो । ‘किमाथांकाबाट पारीपट्टी भएका सडक भत्केको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘नाका खुलेपछि भोटखोलाबासीको दैनिक किनमेल गर्ने थलो चाँगा र डिङ्गी बजार थियो । हामीले गाउँपालिकाका तर्फबाट पनि ५ वटै वडामा तथ्यांक संकलन गरिहेका छौं, सबै ठाउँमा पुग्नु पर्ने भएकाले खोजी गरिरहेका छौं’ ।

क्षतिको विवरण बुझ्न प्रहरी गाउँगाउँमा गइरहेको डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । ‘सञ्चारको समस्या छ, हामी क्षतिका बारेमा बुझ्दैछौं,’ उहाँले भन्नुभयो ।  


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।


Enter Kantipur TV HD
Advertisement