सोलुखुम्बु । नेपालको सिमाना नजिकै चीनको सिगात्से आसपासमा गएको ७ म्याग्निच्युटको भूकम्पका कारण खुम्बु क्षेत्रमा ठूलो धक्का महशुस भएको छ । बिहान ६ बजेर ५० मिनेटको समयमा झन्डै ३० सेकेण्डभन्दा बढी लगातार भुकम्पले हल्लाउँदा तिब्बत नजिकै रहेको खुम्बु क्षेत्रमा ठूलो धक्का महशुस भएको हो ।
भूकम्पले घरहरु हल्लाउँदा यहाँका मानिसहरु घर बाहिरै बसिरहेका छन् । चिसोमा बिहानै भूकम्प गएपछि स्थानीयहरु चिसोमा घर बाहिरै बसिरहेका बस्न बाध्य भएका हुन् । भूकम्पका कारण नागकिहरु सतर्क भएर घरबाहिरै बसिरहेको र भूकम्पबाट माथिल्लो क्षेत्रमा के-कति क्षति भयो भन्ने बारे विवरण संकलनका लागि प्रयत्न भइरहेको खुम्बुपासाङल्हमु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरिङ शेर्पाले बताउनुभयो ।
‘भूकम्पले ठूलो धक्का दिएको छ, जनताहरु घरबाहिरनै छन्’ उहाँले भन्नुभयो, ‘माथिल्लो क्षेत्रमा कुनै क्षति भएको भए सम्पर्क गर्न हामिले सार्वजनिक आव्हान गरेका छौँ ।’
यता प्रहरीले पनि सम्भावित क्षति हुन सक्ने स्थानहरुमा सतर्कता बढाएको छ । खुम्बु क्षेत्रको लबुचे नजिकै केन्द्रविन्दु भएकाले पनि माथिल्लो क्षेत्रका विवरण संकलनमा लागि परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो ।
माथिल्लो क्षेत्रमा पर्यटनको अफ सिजन भएकाले अधिकांश जनता राजधानी तिर बस्दै आएका छन् । सदमुकाम सल्लेरी बजारका नागरिक पनि घरबाहिर निस्किएर सुरक्षित स्थानमा बसिरहेका छन् ।