युक्रेनको खार्किभमा रूसद्वारा हालसम्मकै भीषण ड्रोन आक्रमण

तीनको मृत्यु, २१ जना घाइते
रूसी सेनाद्वारा २१५ मिसाइल र ड्रोन प्रहार
जेष्ठ २४, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
युक्रेनको खार्किभमा रूसद्वारा हालसम्मकै भीषण ड्रोन आक्रमण

काठमाडौं । रूसले युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ । आक्रमणबाट ३ जनाको मृत्यु हुनाको साथै २१ जना घाइते भएका छन् ।

शुक्रबार रातभरमा रूसले २१५ मिसाइल र ड्रोन आक्रमण गरेको युक्रेनी हवाई सेनालाई उद्धृत गर्दै अल जजीराले जनाएको छ । तीमध्ये ८७ ड्रोन तथा ७ वटा मिसाइल आकाशमै नष्ट गरिएको जनाइएको छ । 

युक्रेनले गत शुक्रबार गरेको ड्रोन आक्रमणको जवाफमा रूसले आक्रमण गरेको हो । यस्तै, गत आइतबार पनि ‘युक्रेन अपरेशन स्पाइडर्स वेब’ अन्तर्गत रूसका चार वटा सैन्य बेसमा आक्रमण गरी ४० वटा युद्धक विमान ध्वस्त गरेको दाबी गरेको थियो ।

खार्किभका मेयर इगोर तेरेखोभले शुक्रबार रातिको आक्रमण सन् २०२२ को फेब्रुअरीमा रूसले पूर्ण युद्ध सुरु गरेयताकै ठूलो भएको बताउनुभएको छ ।

यसैबीच, रूस र युक्रेनबीचको पूर्वघोषित बन्दी आदानप्रदान अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ । रूसी राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिनस्कीले बन्दी आदानप्रदान स्थगन गरिनुमा युक्रेन दोषी रहेको आरोप लगाउनुभएको छ । तर, युक्रेनका तर्फबाट भने यसबारे कुनै प्रतिक्रिया आएको छैन । यसै साता टर्कीको इस्ताबुलनमा भएको वार्तामा रूस र युक्रेनले युद्धबन्दी आदानप्रदान गर्ने विषयमा सहमति गरेका थिए । 

युक्रेनी सञ्चारमाध्यमले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गर्दै ५ सय बन्दी युक्रेन फर्किने योजना रहेको जनाएका थिए ।