दुई सय वर्षअघि बेपत्ता भएका पुर्खाको काजकिरिया

जेष्ठ २४, २०८२ |सुरज खड्का
दुई सय वर्षअघि बेपत्ता भएका पुर्खाको काजकिरिया

काठमाडौं । सामान्य अवस्थामा मानिसको मृत्युपछि आआफ्नै संस्कार अनुसार अन्त्येष्टीदेखि काजकिरिया गरिन्छ । तर आफन्तहरू लामो समयसम्म कतै बेपत्ता भएमा वा घर फर्किएर नआउने निश्चित भएमा के गर्ने भन्ने अन्योलले मानिसलाई वर्षौंसम्म पिरोल्ने गरेको देखिन्छ । 

यस्तै पीडाबाट गुज्रिएका काठमाडौंको साँखुका मुडुला कार्की समुदायले झन्डै दुई सय वर्षअघि हराएका पुर्खा बाघबहादुर कार्कीको कुशको शव बनाएर अन्त्येष्टी गर्दै काजकिरिया थालेका छन् ।

तनहुँमा जन्मिएका बाघबहादुर कार्की कामको सिलसिलामा काठमाडौं आउनुहुन्छ । दरबारमा काम गर्दागर्दै उहाँको यतै बिहेवारी हुन्छ । यो कुरा झन्डै दुई सय वर्ष अगाडिको हो । दरबारका जागिरे बाघबहादुर बच्चा जन्मिएपछि श्रीमती र बच्चा छाडेर केही समयका लागि भन्दै जन्मथलो तनहुँ जाने भनेर निस्कनुहुन्छ । तर पछि श्रीमतीले सोधखोज गर्दा बाघबहादुर तनहुँ समेत नपुगेको थाहा हुन्छ । उहाँ परिवारको सम्पर्कमा समेत आउनुभएन । उनै बाघबहादुरका सन्तानहरू अहिले काठमाडौंको साँखुमा ३८ घर परिवार भएका छन् ।

अहिले बाघबहादुरको ८ औं पुस्ता विस्तार भइरहेको छ । ८ औं पुस्ता पुगिसक्यो तर पहिले हराएपछि केही नगरिएको भन्दै उनीहरूले कुशको शव बनाएर अन्त्येष्टि गर्दै १३ दिनकै काजक्रियाको काम सुरु गरेका छन् ।

नेपाली समाजमा बाघबहादुर जस्तै कैयौं व्यक्ति बेपत्ता छन् । कतिपयका सन्तानले आआफ्नो धार्मिक परम्परा अनुसार लामो समयपछि काजकिरिया गर्ने गरेका छन् । अहिले साँखुका मुडुला कार्की समुदायले पनि दुई सय वर्षअघि बेपत्ता भएका आफ्ना पुर्खाको आफ्नो संस्कार गरेका हुन् ।


Image

सुरज खड्का

खड्का कान्तिपुर टीभीका क्यामेरा पर्सन हुन् ।