सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा तरकारी र आलु पकेट क्षेत्रका किसानलाई लक्ष्यित गरी बनाइएका शीतभण्डार र तरकारी संकलन केन्द्र प्रयोगविहीन छन् । प्राविधिक ज्ञान र दक्ष जनशक्ति अभावमा शीतभण्डार सञ्चालनमा समस्या देखिएको छ ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भीमटारमा बागमती प्रदेश सरकारले निर्माण गरेको पाँच सय मेट्रिक टन क्षमताको शीतभण्डार रित्तै भएको हो । प्रदेश सरकार र इन्द्रावती गाउँपालिकाको करिब १० करोड रुपैयाँ लागतमा बनेको शीतभण्डार प्रयोगमा नआउँदा अधिकांश सामान खिया लागेर काम नलाग्ने भएका छन् ।
मेलम्चीको बाहुनेपाटी र चौताराको शीतभण्डार पनि सञ्चालनमा आउन सकेको छैन । किसानले फलाएको तरकारी संकलन गर्ने र बजारसम्म पुर्याउने भनेर प्रदेश र स्थानीय तहले निर्माण गरेको भीमटार, पाङताङ, नवलपुर र ज्यामिरेका चार वटा तरकारी संकलन केन्द्र पनि प्रयोगविहीन बन्दा किसान मर्कामा परेका छन् । शीतभण्डार र तरकारी संकलन केन्द्र बेवारिसे हुँदा व्यावसायिक किसानले उत्पादन गरेको तरकारी काभ्रेको पाँचखालमा रहेको शीतभण्डारमा महँगो पैसा तिरेर राख्नुपर्ने बाध्यता छ ।
सिन्धुपाल्चोकमा सुन्तला, डल्ले खुर्सानी, अदुवा, आलु, किवी लगायतका तरकारी र फलफूलको व्यावसायिक खेती हुन्छ । तर शीतभण्डार र संकलन केन्द्र सञ्चालन नहुँदा समस्या छ । आलु भण्डारका लागि र्याक नहुँदा र रेखदेखका लागि कर्मचारी राख्न खर्च नहुँदा ठूलो लगानीमा बनेका यस्ता संरचना सञ्चालनमै नआई खण्डहर बन्ने अवस्थामा छन् ।