सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा यसपालीको हिउँद यामको पहिलो हिमपात भएको छ । खुम्बुमा गएराति देखि हिउँ पर्न थालेको हो ।
हिउँ नपरेर खुम्बु क्षेत्रका हिमालहरु कालापत्थर जस्तै देखिन थालेका बेला हल्का हिमपात भएसँगै हिमालहरु सेता देखिन थालेका छन् । खुम्बु क्षेत्रका गाउँहरुसमेत हिउँले सेताम्मे भएका छन् ।
नाम्चेको तापक्रम बिहानैबाट माइनस ११ डिग्रीमा झरेको छ भने चिसो अत्याधिक रुपमा बढेको स्थानीय पर्यटन व्यवसायी छिमिकाल्देन शेर्पाले बताउनुभयो । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वारा नाम्चेभन्दा माथिका गाउँहरुमा हिमपात भएपछि त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।
हिउँदयाम सुरु भएसँगै खुम्बु क्षेत्रका ९५ प्रतिशत होटलहरु बन्द भएका छन् । जाडो छल्नका लागि खुम्बु क्षेत्रका स्थानीयहरु होटल र घरहरु बन्द गरेर राजधानी तिर लागेको नाम्चेका व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो ।
हिउँपरेसँगै खुम्बु क्षेत्रमा चिसोका कारण आवतजावतमा समस्या सुरु भएको तेङ्बोचे पुगेका पर्यटन गाइड नरेस कार्कीले जानकारी दिनुभयो । ‘हिउँका कारण खुम्बुका गाउँहरु हेर्न लायकका सेताम्मे भएका छन्,' कार्कीले भन्नुभयो, ‘जनजीवन भने निकै कष्टकर भएको छ ।’
यता मौसम पूर्वानुमान महाशाखाले आज पनि खुम्बु क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । साँझ हिमपात हुने र भोलिबाट भने मौसम सफा रहने मौसमविद् हरिप्रसाद दाहालले बताए । जिल्लाको तल्लो क्षेत्रमा भने हिमपात सुरु भएको छैन ।