बाहुनडाँगीका युवाद्वारा सञ्चालित र्‍यापिड रेस्पोन्स टिमले हात्तीको आक्रमणबाट बच्न सहयोग गर्दै

वैशाख २७, २०८२ |रमा दाहाल
बाहुनडाँगीका युवाद्वारा सञ्चालित र्‍यापिड रेस्पोन्स टिमले हात्तीको आक्रमणबाट बच्न सहयोग गर्दै

झापा । जब धान र मकै पाक्ने सिजन सुरू हुन्छ, भारतबाट जङ्गली हात्तीको लस्कर नेपालतिर पस्न थाल्छ । यस्तो बेला हात्तीको गौँडो भनेर चिनिने झापाको बाहुनडाँगीका युवाले रातभर मेची किनारमा गस्ती लगाउँछन् । 

हात्तीको आक्रमणबाट हुने मानवीय क्षति रोक्न र किसानको बालीनाली जोगाउन लागि परेका यी युवाको मिहिनेतले हात्ती र मानवबीच सहअस्तित्व कामय राख्न ठूलो सहयोग गरेको छ ।

र्‍यापिड रेस्पोन्स टिम नाम दिइएको झापा बाहुनडाँगीका युवाको यो समूहले भारतबाट आउने जङ्गली हात्तीलाई सकेसम्म मेची तर्नै दिँदैन । रातबिरात जङ्गली हात्तीहरू नेपालतिर पसिहाले यिनै युवाले गाउँलेलाई सूचना दिन्छन् । 

यसले बाहुनडाँगीका बासिन्दालाई हात्तीको आक्रमणबाट बच्न ठूलो सहयोग पुगेको छ । झापाका अन्य स्थानमा हात्तीले मानवीय क्षति पुर्‍याइरहँदा बाहुनडाँगीमै भने पाँच वर्षयता हात्तीको आक्रमणबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन ।

स्थानीय जङ्गलमै रहेका रैथाने हात्तीदेखि भारतबाट चरनको खोजीमा आउने अधिकांश हात्तीको आनीबानी पनि बाहुनडाँगीका यी युवाले राम्रैसँग बुझेका छन । 

कुन हात्ती कति आक्रामक छ र त्यसलाई धपाउन कस्तो विधि अपनाउनुपर्छ भन्ने पनि उनीहरूलाई नै थाहा हुन्छ । यतिमात्र होइन, उनीहरू स्थानीय जङ्गलमा रहेका रैथाने हात्ती कहाा र कुन अवस्थामा छन भन्ने पनि निगरानी गरिरहेका हुन्छन् । वन कार्यालयका अधिकारीहरू पनि जङ्गली हात्तीको पहिचान तथा उद्धार गर्नुपर्दा यिनै युवालाई अघि लगाएरमात्र जङ्गल पस्न सक्छन् ।

आफ्नो ज्यान नै जोखिममा राखेर जङ्गली हात्तीबाट मानवीय र भौतिक क्षति कम गर्न तम्सिएका यी युवाले राज्यबाट भने अहिलेसम्म कुनै साथ सहयोग पाएका छैनन् । तैपनि यी युवाको अगुवाइमा झापामा मानव-हात्ती सहअस्तित्वले मूर्तरूप लिँदैगएको छ । 


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।