काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त सुझावहरूलाई बजेटमा समेटिने बताउनुभएको छ । आइतबारको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले नीति तथा कार्यक्रम नयाँ ढंगले आएको बताउँदै सामाजिक न्याय समानता, सुशासन र विकासमा केन्द्रित रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रस्तुत नीति तथा कार्यक्रममाथि माननीयहरूबाट प्राप्त संशोधन प्रस्तावहरूलाई मननयोग्य सुझावका रूपमा ग्रहण गर्दै धन्यवाद भन्न चाहन्छु । ती सुझावहरूलाई जेठ १५ गते सम्मानित संयुक्त सदनमा प्रस्तुत हुने वार्षिक बजेट वक्तव्यमा समेटिने म विश्वास दिलाउन चाहन्छु ।”