काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवाद घोषणा गर्ने समय भइनसकेको बताउनुभएको छ । आइतबारको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले समाजवाद तत्काल घोषणा गरेर मात्रै नहुने बताउनुभयो ।
उहाँले समाजमा रहेको अराजकता नियन्त्रण गर्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्दै समाजवादको दिशामा अघि बढ्ने कुरा राम्रो भए पनि समाजवाद घोषणा गरिहाल्ने समय नभएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “माननीय प्रश्नकर्ता मान्यज्यू समाजवादकै बारेमा चिन्तन गरेर, मनन गरेर, दिमाग खेलाएर परिपक्व उमेरमा पुग्नुभएको मान्छे । यस्तो अवस्थामा, यति बेला समाजवाद तत्काल घोषणा गरेर हुने कुरा हो र ? अराजकता यस्तो छ, समाजमा घोषणा गरेर समाजवाद होला ? यो अराजकता नियन्त्रण गर्नु पर्दैन ? सामाजिक सञ्जाल यस्तो छ । अहिले त्यो १५ गतेको घटनाको कोही माइबाब भेटिँदैन, को आयोजक ? समाजवादतर्फ अघि बढ्ने नै हो । तर समाजवाद घोषणा गर्ने बेला भएको छैन । त्यस दिशामा अगाडि बढ्ने हो ।”