नीति तथा कार्यक्रम यथार्थपरक र कार्यान्वयन योग्य छः सांसद बर्तौला

वैशाख २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
नीति तथा कार्यक्रम यथार्थपरक र कार्यान्वयन योग्य छः सांसद बर्तौला

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विगतभन्दा यथार्थपरक, वस्तुनिष्ठ र कार्यान्वयन योग्य रहेको दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । सरकारको नीति तथा कार्यक्रम अघिल्ला वर्षहरूको जस्तो ‘भद्दा’, कानूनी दृष्टिले कमजोर र स्रोतसाधनविहीन नरहेको जिकिर गर्नुभयो । 

उहाँले सत्तारूढ दलहरू नेपाली काँग्रेस र नेकपा (एमाले)बीचको आपसी समझदारीको जगमा नीति तथा कार्यक्रम आएको बताउँदै यसले विद्यमान चुनौतीहरू सामना गर्दै नीतिगत स्थिरता कायम गर्ने विश्वास व्यक्त गर्नुभयो । 

नीति तथा कार्यक्रम घोषणात्मक र आकर्षक शब्दहरूमा सीमित नभई, मुलुकको वास्तविकता र सीमामा आधारित रहेको बर्तौलाको जिकिर छ । सरकारको नीति तथा कार्यक्रमले देशमा नीतिगत स्थायित्व ल्याउने, दीर्घकालीन योजना कार्यान्वयनको बाटो खोल्ने र वर्तमान राजनीतिक सहकार्यलाई संस्थागत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रममाथि सिर्जनात्मक आलोचना नभई विरोधका लागि मात्र आलोचना गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.