काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारी फडानी कडाइका साथ रोकिने बताउनुभएको छ ।
दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उमेर नपुग्दासम्म साललाई व्यावसायिक उपयोगमा लैजान नहुने बताउनु भयो । उहाँले नेपालको वनको क्षेत्रगत विस्तार पनि रोक्नुपर्ने बताउनुभयो । हाल नेपालले कुल भूभागको ४६ दशमलब ०८ प्रतिशत वन संरक्षण गरेको छ ।
प्रधानमन्त्री ओलीले नेपालले अब वन क्षेत्रको संरक्षणभन्दा उत्पादनमा जानुपर्ने जिकिर गर्दै वनको व्यावसायिक उपयोगका लागि हतार पनि नगर्ने र ढिलो पनि नगर्ने नीति लिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले बाघको सङ्ख्या बढाउन नहुने आफ्नो पुरानो अभिव्यक्ति पुनः दोहोर्याउनु भयो । उहाँले बाघले कानुन नपढ्ने र भोक लागेपछि मान्छेलाई आक्रमण गर्ने भन्दै बाघको संख्या बढाउन नहुने आफ्नो भनाइ सही भएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले अमेरिकातर्फ संकेत गर्दै पेरिस सम्झौता नमान्ने अडानका कारण जलवायु परिवर्तनको असरबाट सबैलाई सास्ती हुने जिकिर गर्नुभयो ।
उहाँले जलवायु परिवर्तनको महत्व बुझाउन नेपालले सगरमाथा संवादको आयोजना गर्न लागेको पनि स्पष्ट पार्नुभयो । वन संरक्षणसहित कार्बन उत्सर्जनमा पनि नगण्य हिस्सा भएको हुँदा नेपालले क्षतिपूर्ति पाउनुपर्ने धारणा पनि प्रधानमन्त्री ओलीले राख्नुभयो ।