काठमाडौं । आइतबार साँझ देखि देशका अधिकांश स्थानहरूमा मौसम बदली हुने सम्भावना देखिएको छ ।
पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण आइतबार साँझबाट नेपालका अधिकांश स्थानहरूमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले हिउँदे मौसमको विशेष बुलेटिन सार्वजनिक गर्दै न्यून चापीय प्रणालीको प्रभावका कारण आइतबार साँझ देखि सोमबार राति सम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको जनाएको छ ।
साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आएर चिसो बढ्न सक्ने सम्भावना रहेको छ ।