सुर्खेत । संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका १४ सडक अलपत्र पारेको छ । तामाङको कम्पनीले ३ वर्षअघि वीरेन्द्रनगरको भीआइपी क्षेत्रका १५ सडक निर्माणको ठेक्का लिएको थियो । तर ३ वर्षसम्म एउटा मात्रै बनाएको छ ।
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय र मन्त्रालयहरु जोड्ने १५ वटा सडक निर्माण तथा स्तरोन्नती थालिएको ३ वर्ष पुग्यो । तर मन्त्रालय वरिपरिकै सडक अहिलेसम्म बनेका छैनन् । निर्माण व्यवसायीसमेत रहेका संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको निर्माण कम्पनी कान्छाराम कन्सट्रक्सनले सडक अलपत्र पारेको हो । १५ मध्ये एउटा मात्रै सडक निर्माण सम्पन्न गरेको कान्छाराम कन्स्ट्रक्सनले १४ वटा सडक आर्थिक अभाव र पेटी ठेकेदारको कारण देखाएर अलपत्र छोडेको छ ।
१८ महिनाभित्र ५ किलोमिटर लम्बाइका १५ वटा सडक निर्माण गर्न कान्छाराम कन्स्ट्रक्सले ०७८ भदौमा ठेक्का लिएको थियो । तर १५ मध्ये ६ वटामा काम नै सुरु भएको छैन ।
पटकपटक ताकेता गर्दापनि काम नभएपछि झण्डै २ करोड बैंक ग्यारेन्टी जफत गरिएको छ ।
निर्माण व्यवायमा संलग्न जनप्रनिधिहरु बढी जवाफदेही हुनुपर्नेमा शक्तिको दुरुपयोग गरेर उल्टै विकास निर्माणको बाधक भन्ने गरेको सरोकारवालाहरु बताउँछन् । पहुँचवाला र प्रत्यक्ष राजनीतिमा जोडिएका ठेकेदारलाई राज्यले काम गर्न दबाब दिन नसक्ने र कारवाही पनि गर्न नसक्ने भएकाले यस्ता जनप्रतिनिधिहरु विकासको बाधक बन्ने गरेका हुन् ।
निर्माण व्यवसायीको पृष्ठभूमिबाट कानुन निर्माणको तहसम्म पुगेका जनप्रतिनिधिहरुले आफ्ना गल्ती कमजोरीबाट उन्मुक्ति पाउनेगरी कानुन निर्माण गर्ने भएका कारण कानुनीरुपमै यस्ता कमजोरीहरु सुधार नगरेसम्म विकास निर्माणमा देखिएको व्यवधान नहट्ने देखिन्छ ।
कान्छाराम कन्स्ट्रक्सनले सहरी सडक आयोजनामा पर्ने १५ वटा सडक निर्माण गर्न १२ करोड ९४ लाख ३६ हजारमा जिम्मा लिएको थियो । तर हालसम्म ७ सय ३६ मिटर सडक मात्रै कालोपत्रे गरेर ३ करोड ३३ लाख भुक्तानी लिइसकेको छ ।