प्रधानमन्त्रीको चीन भ्रमण : राष्ट्रिय हितलाई प्राथमिकता दिन विज्ञको सुझाव

मंसिर १६, २०८१ |सुदिल पोखरेल|दीपक आचार्य
प्रधानमन्त्रीको चीन भ्रमण : राष्ट्रिय हितलाई प्राथमिकता दिन विज्ञको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि गर्ने चीन भ्रमणका एजेन्डा तय गर्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले निकै रस्साकस्सी गर्नुपर्‍यो । दुई दलको कार्यदलमा भएको छलफलदेखि परराष्ट्रमन्त्री आरजु राणाले चीनमै पुगेर समकक्षीसँग परामर्श गरेपछि प्रधानमन्त्रीको भ्रमणका एजेन्डा तय गरिएको हो । भ्रमणका क्रममा नेपालका तर्फबाट पुरानै समझदारीलाई अनुदानमा अगाडि बढाउन प्रस्ताव गरिने भएको छ । अब प्रधानमन्त्रीले आफ्नो भ्रमणका क्रममा अर्थ, विकास र चिनियाँ सहयोग परियोजना- बीआरआईसँग सम्बन्धित कस्ता परियोजना अगाडि बढाउन चीनसँग प्रस्ताव गर्न सक्नुपर्छ त ?

प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबारदेखि हुने चीन भ्रमणका क्रममा मूलतः बीआरआईका परियोजनामा अहिलेका लागि अनुदानमा मात्र लिने र यसको कार्यान्वयन मोडालिटीमासमेत थप छलफल गर्ने तयारी छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालले गर्न सक्ने अन्य महत्वपूर्ण विषय पनि छन् । आर्थिक वर्ष २०८०-८१ मा नेपालले चीनबाट २ खर्ब ९८ अर्ब रुपैयाँको वस्तु आयात गर्दा दुर्इ अर्ब ५८ करोड मात्रै निर्यात भएको छ । जसले चीनसँग २ खर्व ९६ अर्व व्यापार घाटा देखिन्छ । तर ब्यापार घाटा कम गर्न नेपालले तत्काल निर्यात बढाउन सक्ने अवस्था पनि देखिँदैन । यो अवस्थामा अब चिनियाँ सामग्री आयातका लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने अवस्था अन्त्य गर्दै चीनसँग रोड र रेल्वे सम्पर्कलाई बढाउने विषयलाई प्रधानमन्त्रीले भ्रमणका क्रममा प्राथमिकताका साथ उठाउनुपर्ने निजी क्षेत्रको सुझाव छ । नेपालका जलविद्युत् आयोजना र उद्योगहरुमा चिनियाँ लगानी भित्र्याउने र उत्पादित वस्तु चीनमै निर्यातको वातावरण मिलाउन सके भ्रमण उपलब्धिमूलक हुने दाबी निजी क्षेत्रको छ ।

त्यसो त चिनियाँ परियोजनाको मोडालिटीका विषयमा पनि नेपालमा सधैं विवाद हुने गरेको छ । सरकार परिवर्तन भएपिच्छे हुने विवादका कारण चिनियाँ परियोजनाहरु कार्यान्वयनमा जान सकेका छैनन् । अहिले आर्थिक क्षेत्रमा देखिएको शिथिलताका कारण नेपालले थप ऋण लिन सक्ने अवस्था नहुँदा चीनको सहयोगमा स-साना आयोजनाहरु अघि बढाउँदा उपयुक्त हुने अर्थविद् बताउँछन् ।

नेपालले विकास निर्माणका क्षेत्रमा छिमेकीहरुको सहयोग लिनुपर्ने बाध्यात्मक अवस्था छ । तर कुनै पनि देशको परियोजना अगाडि बढाउने विषयमा सधैंजसो विवाद हुने गरेको छ । पछिल्लो पटक बीआरआई कार्यान्वयनमा सत्तारुढ दलहरुबीच भएको मतभेद पनि त्यसैमध्येको एक हो । अब प्रधानमन्त्रीको भ्रमणका क्रममा चीनबाट कसरी लाभ लिन सकिन्छ त ?

विज्ञहरुको सुझाव सुन्दा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने, समयमै लगानी आउने र सम्पन्न हुने आयोजनालाई प्राथमिकता दिनुपर्ने देखिन्छ । तर त्यसका लागि परियोजनाको मोडालिटीका बारेमा भने दुवै पक्ष सुरुमै स्पष्ट हुनु आवश्यक छ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।

Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।