मिर्चैयामा डुबेर महिलाको मृत्यु प्रकरण : अनुसन्धान गर्न तीन सदस्यीय छानबिन समिति गठन

मंसिर १७, २०८१ |विनय आजाद
मिर्चैयामा डुबेर महिलाको मृत्यु प्रकरण : अनुसन्धान गर्न तीन सदस्यीय छानबिन समिति गठन

सिरहा । सिरहाको मिर्चैया नगरपालिका-५ स्थित बजार क्षेत्रमा आइतबार खाल्डोमा डुबेर एक महिलाको मृत्यु भएको घटनाको छानबिन हुने भएको छ । स्थानीय २५ वर्षीया रोजिनादेवी महतोको मृत्यु भएको घटनाको अनुसन्धानका लागि सोमबार तीन सदस्यीय छानबिन समिति गठन भएको सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिनु भयो । 

समितिमा पूर्वाधार कार्यालय सिरहाका प्रमुख रामदेव खड्का, इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्द साह र जिल्ला प्रशासन कार्यालय सिरहाका अधिकृत सुरेश साह छन् । छानबिन समितिले आजको मितिदेखि १५ दिनभित्र प्रतिवेदन पेश गर्ने दाहालले बताउनु भयो । मिर्चैया नगरपालिकाको कार्यालय छेउमै नालाका लागि खनेर अलपत्र छाडिएको खाल्डोमा जमेको पानीमा बिहान ९ बजे चिप्लिएर लडेकी रोजिनाको डुबेर मृत्यु भएको थियो ।

सरकारी निकाय र ठेकेदारको लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै आफन्त र स्थानीय छानबिन समिति बनाउन माग गर्दै शव बुझ्न मानेका थिएनन् । मृतकका आफन्तका अनुसार नगरपालिकाले उक्त खाल्डो एक वर्षअघि खनेको थियो ।

तर, मिर्चैया नगरपालिकाले भने यो योजना संघीय सरकारको भएको दाबी गरेको छ । मिर्चैया नगरपालिका नगरप्रमुख श्रवणकुमार यादवले भन्नु भयो, “यो योजना संघीय सरकारको हो, उतैका ठेकेदारले यो खनेको हुन्, हामीले होइन ।”

यता, मिर्चैया बजार क्षेत्रमा दुई वर्षअघि नाला निर्माणको काम गरेको शहरी विकास मन्त्रालय अन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, राजविराजले आफूहरूले पनि उक्त खाल्डो नखनेको दाबी गरेको छ । आफ्नो ठेकेदार र स्थानीयसँग बुझ्दा उक्त खाल्डो एक वर्षअघि खनिएको र त्यो अवधिमा आफूहरुले त्यहाँ काम नै नगरेको कार्यालयका प्रमुख उदय चौधरीले दाबी गर्नु भयो ।

“नगरपालिकाले हामीहरूले खाल्डो खनेको भनिरहेको छ, तर त्यस अवधिमा हामीले त्यहाँ काम नै गरेका छैनौं”, उहाँले भन्नु भयो, “खाल्डो कसले खन्यो, हामी पनि आश्चर्यमा परेका छौं ।”


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement