प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिला उपमन्त्रीद्वारा स्वागत

मंसिर १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिला उपमन्त्रीद्वारा स्वागत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमणमा बेइजिङ पुग्नुभएको छ।

चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा बेइजिङ पुग्नुभएका प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिला उपमन्त्री सुन बेइदोङले बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ।

प्रधानमन्त्री ओली हिमालय एयरलाइन्सको चार्टर्ड विमानबाट आज बिहान ११ बजे बेइजिङ प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले भोलि चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छयाङ र चिनीयाँ जन कंग्रेसका अध्यक्षसँग भेटवार्ता गर्नुहुनेछ । भोलि नै प्रधानमन्त्री ओली र समकक्षी ली खछ्याङको उपस्थितिमा दुई पक्षबीच महत्वपूर्ण विषयमा सहमति तथा सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

भ्रमणको तेस्रो दिन मंसिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुनेछ । त्यसैगरी नेपाली र चिनियाँ व्यापारीहरुको भेलालाई समेत सम्वोधन गर्ने कार्यक्रम रहेको छ। मंसिर १९ गते प्रधानमन्त्री ओलीले बेइजिङको भ्रमणसमेत गर्ने कार्यक्रम छ भने साँझ नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनुहुनेछ ।

प्रधानमन्त्री ओली मंसिर २० गते दिउँसो स्वदेश फर्किने तालिका छ । प्रधानमन्त्री ओलीको चीन भ्रमण टोलीमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्य सहभागी छन् । प्रधानमन्त्री चीन जाने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा ठप्प गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.