पश्चिम अफ्रिकी देश गिनीमा फुटबल खेलका क्रममा भागदौड हुँदा ५६ जनाको मृत्यु

मंसिर १७, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
पश्चिम अफ्रिकी देश गिनीमा फुटबल खेलका क्रममा भागदौड हुँदा ५६ जनाको मृत्यु

काठमाडौं । पश्चिम अफ्रिकी देश गिनीमा एक फुटबल खेलका क्रममा समर्थकबीच भएको झडप र त्यसपछिको भागदौडमा परी कम्तिमा ५६ जनाको मृत्यु भएको छ । गिनीको दोस्रो ठूलो शहर नजेरेकोरेको रंगशालामा उक्त घटना भएको हो ।

गिनीका सैन्य नेता मामाडी डुम्बोयाको सम्मानमा आयोजना गरिएको फुटबल प्रतियोगिताको फाइनल खेलका क्रममा रेफ्रीले गरेको विवादास्पद निर्णयपछि झडप भएको हो ।

पाहुना टोली लाबेका समर्थकहरुले रेफ्रीलाई लक्षित गर्दै मैदानमा ढुङ्गा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो र तस्बिरमा ठूलो संख्यामा मानिसहरु रंगशालाको पर्खाल चढ्न खोजिरहेको र बाहिर थुप्रै शवहरु देखिएको छ । ज्यान गुमाउनेहरुमा थुप्रै जना नाबालक रहेको बताइएको छ ।

नजेरेकोरे र लाबेबीचको फुटबल प्रतियोगिता हेर्न रंगशालामा हजारौंको संख्यामा दर्शकको उपस्थिति थियो । प्रधानमन्त्री ओउरी बाहले घटनाप्रति दुःख व्यक्त गर्दै दोषी पत्ता लगाउन छानबिनको आदेश दिनुभएको छ ।