माथिल्लो मुस्ताङमा फेला पर्यो नयाँ प्रजातिको चरा

मंसिर १५, २०८१ |मनोज पौडेल
माथिल्लो मुस्ताङमा फेला पर्यो नयाँ प्रजातिको चरा

कपिलवस्तु । नेपालमा नयाँ चरा गेरुमुहार चाँचर फेला परेको छ । उक्त चरा माथिल्लो मुस्ताङको ३ हजार एकसय मिटर उचाइमा चराविद् शंकर तिवारीले फेला पार्नुभएको हो । पदयात्रा गर्दै चरा अवलोकनका क्रममा अन्नपूर्ण संरक्षण क्षेत्रको चेले गाउँमा रहेको स्याउ बगैंचामा उहाँले चरा देखेर तस्बिर खिच्नुभएको थियो ।

तिवारीले उक्त चराको तस्बिर गत वैशाख १८ गते बिहान ६ बजेर ३९ मिनेटमा खिच्नुभएको हो । नेपालमा नयाँ चराको अभिलेख राख्ने नेपाल बर्ड रेकर्ड कमिटिलाई नेपालमा नयाँ चरा अभिलेख भएको भनेर कार्तिक २५ गते भौगोलिक अवस्था र तस्बिरसहित विस्तृत जानकारी उहाँले दिनुभएको थियो । समितिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र राष्ट्रिय अन्तर्राष्ट्रिय चरा विशेषज्ञसँग छलफल र राय सुझाव लिएर अध्ययन अनुसन्धान गरेर नेपालका लागि नयाँ चरा भएको निष्कर्षमा पुगेको समिति अध्यक्ष डा. तुल्सी सुबेदीले बताउनुभयो ।

समितिले अंग्रेजीमा (Naumann's Thrush) नाम रहेको चराको नेपाली नाम गेरुमुहार चाँचर दिएको हो । मुहार र तल्लो भाग गेरुरंगको हुँदा यो चराको नाम गेरुमुहार चाँचर दिइएको हो । योसँगै नेपालमा पाइने चाँचर प्रजातिको चरा संख्या २० पुगेको छ । 

नयाँ चराको तस्बिरसहित विस्तृत सूचना दिएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय चरा विज्ञको टोलीले उक्त चरा नेपालका लागि नयाँ भएको पुष्टी गरेको नेपाल पन्छीविद् संघका कार्यकारी निर्देशक लक्ष्मण पौडयालले बताउनुभयो ।

तालुमा धर्सा रहेकाले पहिचान गर्न सजिलो हुने भएकाले उक्त नाम दिइएको हो । अब नेपालमा चरा पाउनेको संख्या थपिएर ८ सय ९७ पुगेको छ । रुसमा आवाशिय रुपमा पाइने र प्रजनन् गर्ने यो चरा चीन, जापान, मंगोलिया, कोरिया र ताइवानमा पनि पाइन्छ । बसाइसराइका बेला यो चराले मंगोलियाको बाटो प्रयोग गरेर आवतजावत गर्छ ।

बेलायत, फ्रान्स, नर्वे, स्विडेन र फिनल्यान्ड लगायत एसियाका केही मुलुक र मध्यपूर्वको केही देशमा फिरन्ते चराको रुपमा रेकर्ड भएको यो बसाइसर्ने क्रममा नेपाल आएको हुन सक्ने चराविद्हरु बताउछन् । मुलुका लागि नयाँ चरा पहिचान गर्न सकेकामा खुसी लागेको तिवारीले बताउनुभयो । 'यसले चरा पर्यटनमा लाग्न उत्साह थपिएको छ,' उहाँले भन्नुभयो, 'अझ चराका फोटो खिच्न लाग्न उत्प्रेरित गरेको छ ।' यसअघि तिवारी र वाइल्डलाइफ फोटोग्राफर संजय श्रेष्ठले गत साउनमा नेपालका लागि तालुधर्से अर्जुनक नयाँ चरा नेपालमा पाइएको अभिलेख गराउनु भएको थियो । 


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement