काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री एवम् नेकपा एमालेका नेता विमला राई पौड्यालले प्रधानमन्त्री केपी ओलीले आफ्नो तेस्रो कार्यकालको पहिलो औपचारिक भ्रमण चीनबाट सुरु गर्नुलाई भारतसँगको सम्बन्ध बिग्रिएको भन्ने कोणबाट बुझ्न नहुने बताउनुभएको छ ।
कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम सरोकार कुरा गर्दै पूर्वपरराष्ट्रमन्त्री पौड्यालले सार्वभौम मुलुकका प्रधानमन्त्रीले आवश्यकता र समय अनुकूल भ्रमण गर्नुलाई स्वभाविक रुपमा लिनुपर्ने बताउनुभयो । कूटनीतिक मामिलाका जानकार रुपक सापकोटाले प्रधानमन्त्री ओलीको भारतसँग सम्बन्ध राम्रो नदेखिएको अवस्थामा हुन लागेको चीन भ्रमणले छिमेकी राष्ट्रसँगको सम्बन्ध असन्तुलिन हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।
छिमेकी दुई मुलुकबीच समानान्तर सम्बन्ध बनाउनुपर्नेमा अप्ठेरो परेको बेलामा मात्रै चीन जाने प्रवृत्तिले नेपालको विश्वासनीयता गुम्नसक्ने उहाँको भनाइ छ । कूटनीतिक मामिलाका अर्का जानकार अरुणकुमार सुवेदीले सत्ताका प्रमुख साझेदार कांग्रेस-एमालेबीच बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआईमा ठूलो मतभेद नरहेको जिकिर गर्नुभयो । परियोजना छनोट गर्दा भने राष्ट्रिय प्राथमिकता र भूराजनीतिक चासोमा ध्यान पुर्याउनुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रम सरोकार अहिले कान्तिपुर टेलिभिजनमा प्रसारण भइरहेको छ । यो कार्यक्रम कान्तिपुर टेलिभिजनको एप, यूट्यूवलगायतका सामाजिक प्लाटफर्महरुमा पनि हेर्न सकिने छ ।