काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनु पर्ने बताउनु भएको छ । छैटौं एसियाली जनसंख्या सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरू जारी रहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्खरै जन्मिएका एक शिशुका आमासँग भर्चुअल संवाद गरेर सम्मेलनको उद्घाटन गर्नु भएको थियो । उहाँले समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेटिनुनु पर्ने, आत्मसम्मान सहितको मानवअधिकार, स्वस्थ्य र आशा सहिको विश्व निर्माणमा सबै एक हुनु पर्नेमा जोड दिनु भयो । उहाँले पृथ्वी र मानवको रक्षार्थ लाग्दै मानवीय विकास, असल जीवनयापनका समस्या र समाधानका उपायका लागि यस्ता विषयमा हुने सम्मेलनले गहन सुझाव दिने अपेक्षा गर्नु भयो ।
उहाँले जलवायु परिवर्तनका मुद्दालाई सामना गर्न विश्वव्यापी साझेदारीलाई महत्त्वका साथ बढाउनुपर्ने भन्दै दिगो विकास, सुशासन र सामूहिक प्रयास अत्यावश्यक भएको बताउनु भयो । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकाङ्क्षाहरूलाई देखिने खालका उपलब्धिमा रूपान्तरित गर्नु पर्नेमा जोड दिनु भयो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराल, एसियाली जनसंख्या एसोशिएशनका अध्यक्ष रेइको हायाशी लगायत सम्मेलनको उद्घाटन सत्रमा सहभागी हुनुहुन्थ्यो । सम्मेलनमा विभिन्न विषयगत सत्र सञ्चालन हुनेछ ।