इजरायल र हिजबुल्लाहबीचको युद्धविराम सम्झौता कार्यान्वयनपछि विस्थापितहरु घर फर्कँदै

मंसिर १२, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायल र हिजबुल्लाहबीचको युद्धविराम सम्झौता कार्यान्वयनपछि विस्थापितहरु घर फर्कँदै

काठमाडौं । इजरायल र इरानसमर्थित समूह हिजबुल्लाहबीचको युद्धविराम सम्झौता कार्यान्वयनमा आएपछि दक्षिण लेबनान र उत्तरी इजरायलका विस्थापित नागरिक घर फर्कन थालेका छन् ।

फर्कने नागरिकहरुका कारण दक्षिणी लेबनान र बेरुत जोड्ने राजमार्गमा ट्राफिक जाम नै भएको बीबीसीले जनाएको छ । केही मानिसले हिजबुल्लाहका पूर्वप्रमुख हसन नसरल्लाहका तस्बिर तथा हेजबुल्लाहका झण्डा बोकेका पनि देखिएका छन् ।

तर, इजरायली सेनाले उत्तरी इजरायलका केही क्षेत्रमा भने आफ्ना नागरिकलाई जान अनुमति दिएको छैन । युद्धबिरामको अस्ट्रेलिया, इजिप्ट, कतार, इरान, टर्कीए, जोर्डान र बेलायतलगायतका मुलुकहरुले स्वागत गरेका छन् । हिजबुल्लाहले उक्त सम्झौतालाई आफूहरुको जित भएको बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले युद्धबिराम सम्झौता घोषणा गरेपछि आज बिहान चार बजेदेखि कार्यान्वयनमा आएको हो ।अमेरिका र फ्रान्सको मध्यस्थतामा यो सम्झौता भएको हो । इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले सहमति जनाएपछि सम्झौताले अन्तिम रुप लिएको हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहले युद्धबिरामको उल्लंघन गरे प्रत्याक्रमण गर्ने आफ्नो अधिकार रहेको बताउनु भएकोछ । अमेरिकासहित पाँच देशले उक्त सम्झौताको अनुगमन गर्ने बताइएको छ ।

सम्झौता अनुसार आगामी ६० दिनको अवधिमा इजरायली सेना लेबनानबाट चरणबद्ध रुपमा फिर्ता हुनेछ । यस्तै हिजबुल्लाहले पनि लेबनान र इजरायलबीचको अनौपचारिक सीमा रेखा ब्लुलाइन र लिटानी नदीबीचको क्षेत्रबाट आफना लडाकु र हतियार हटाउनेछ । सो क्षेत्रमा रहेका हिजबुल्लाहका लडाकुलाई लेबनानी सेनाले प्रतिस्थापित गर्नेछन् ।

यो सम्झौताले २००६ को इजरायल-हिजबुल्लाह युद्ध अन्त्य गर्ने गरी राष्ट्रसंघीय सुरक्षा परिषद्बाट पारित प्रस्ताव नम्बर १७ सय १ को अनुसरण गरेको छ भने युद्धविराम लागू गराउने त्रिपक्षीय संयन्त्रमा अब अमेरिका र फ्रान्सको पनि योगदान हुनेछ । इजरायल र हमासबीच गाजा युद्ध शुरु भएपछि इजरायल र हिजबुल्लाहले पनि एक अर्कामाथि आक्रमण गर्दै आएका थिए । दुई महिनाअघि इजरायली स्थल सेना लेबनानभित्र परिचालित भई हिजबुल्लाहविरुद्ध कारबाही गर्दै आएको थियो भने हवाई आक्रमण पनि गर्दै आएको थियो । पछिल्लो एक वर्षको अवधिमा इजरायली कारबाहीमा लेबनानमा ३ हजार ८ सयभन्दा बढी मारिएका छन् ।



Enter Kantipur TV HD
Advertisement