पोखरा । नेपाल प्रिमियर लिग, एनपीएल क्लब पोखरा एभेन्जर्स ब्याटर र अलराउन्डरले भरिएको टिम हो । पेश बलिङमा कमजोर भए पनि फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य पोखराको छ । फ्रेन्चाइज क्रिकेटका अनुभवी प्रशिक्षकसँग एभेन्जर्सले शनिबार सुरु हुने पहिलो संस्करणको एनपीएलका लागि पोखरामा अन्तिम तयारी गरेको छ । अहिले उसमा चार जना विदेशी खेलाडी नेपाल आइसकेका छन्।
नेपाल क्रिकेट टिमका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्स अहिले पोखरा रंगशालाको क्रिकेट मैदानमा प्रशिक्षण गरिरहेको छ । आइपीएलको क्लब चेन्नई सुपर किङ्सका फिल्डिङ प्रशिक्षक राजिव कुमारलाई मुख्य प्रशिक्षकका रुपमा भित्र्याएर पोखराले ६ दिनदेखि दुई सेसन गरेर दिनभर जसो प्रशिक्षण गरिरहेको छ ।
फिल्डिङका बादशाह भनेर परिचित दक्षिण अफ्रिकी लिजेन्ड जोन्टी रोड्स र प्रशिक्षक राजीवको आईपीएलको अनुभव एनपीएलमा पनि देख्न पाइने छ । उसो त पोखराको ब्याटिङ लाइनअप बलियो देखिन्छ । नेदरल्याण्डका बास डे लिड, वेष्ट इन्डिजका रेमोन रेइफर, इंग्ल्याण्डका म्याट क्रिचले, स्कटल्याण्डका माइकल लिस्क र अमेरिकाका आन्डोस गौसलाई विदेशी खेलाडीका रुपमा अनुबन्ध गरेको छ । यी सबै खेलाडीले ब्याटिङमा फरक-फरक परिचय बनाएका छन् । पोखरामा अनुबन्धित विदेशी खेलाडी मंसिर १३ गतेसम्म नेपाल आइपुग्ने टिम व्यवस्थापकले जनाएको छ । पाँच विदेशी खेलाडीमध्ये चार जना अलराउण्डर हुन भने एक जना विकेटकिपर हुन । पोखरामा राष्ट्रिय टिमका स्पिनर सागर ढकाल अनि राष्ट्रिय टिमबाट खेलिसकेका युवा पेसर आकाश चन्द छन् । यसबाहेक राष्ट्रिय टिममा खेलिसकेका विकेटकिपर ब्याटर दिलिप नाथ, नेपाल ए टिमका नारायण जोशी, किरण ठगुन्ना र गण्डकीको घरेलु खेलाडी विपिन खत्री र अमृत खत्री, उमेर समूहमा खेलेका तृतराज दास, अनि अस्ट्रेलियामा बसेर क्रिकेट खेल्दै आएका सुनाम गौतमको व्यक्तिगत ट्यालेन्टले टिमलाई थप बलियो बनाएको छ ।
नेपाली र विदेशी खेलाडी टप अर्डरमा मार्की कुशल भुर्तेलसहित अमेरिकी विकेटकिपर आन्डोस गौस र दिलीप नाथ ओपनिङमा खेल्ने छन् । उसको मिडल अर्डर पनि बलियो छ । अलराउण्डर धेरै भएकाले मिडल अर्डरमा पोखरालाई पर्याप्त विकल्प हुनेछन् । तर उसलाई पेस बलिङमा भने खडेरी पर्न सक्छ । त्रिविको नयाँ पिचमा आकाश चन्द मात्र पेस बलर हुँदा पावर प्लेमा विकल्प हुने छैन् ।
पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत् आइकनिक खेलाडीका रुपमा नवलपुरका सुदिप अर्याललाई अनुबन्ध गरेको छ । स्याङ्जाका सन्दीप खत्री, कास्कीका कृष्ण पौडेल, सोहेल कुावर र तनहुाका सन्दिप पराजुली गण्डकी हिरोजका रुपमा छनोट भइ अभ्यास गरिरहेका छन् । यसअघि नेपाल टि-ट्वेन्टी लिग खेलेको पोखरा एभेन्जर्सले पहिलो एनपीएलमा दाबेदारी प्रस्तुत गर्ने तयारीका साथ प्रशिक्षण गरिरहेको हो ।