काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रबन्ध गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने गरी पर्दामा उतारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसँग जोड्न आग्रह गर्नु भएको छ । चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनु भएको हो ।
राष्ट्रपति पौडेलले ठूला ठूला विषयवस्तुभन्दा गाउँ समाजमा देखिएका ससाना तर मौलिक कथा र चरित्रलाई प्रस्तुत गरेर ओझेलमा परेको नेपाली भाषा संस्कृति तथा परम्पराको जगेर्ना गर्न पनि नेपाली चलचित्र उद्योगले थप मेहनत गर्ने अपेक्षा राखेको बताउनु भयो । उहाँले पछिल्लो समय व्यावसायिक सफलता र कथा प्रस्तुतिमा आएको शैलीगत विशेषताले नायकत्वभन्दा कथाका विषयवस्तु र चरित्रलाई प्रधानता दिएका चलचित्रलाई नेपाली दर्शकले औधी रुचाउन थालेको पनि उल्लेख गर्नु भयो । राष्ट्रपति पौडेलले मौलिक कथा, प्रस्तुतिमा नवीनता र अधिक सिर्जनशीलताले नेपाली चलचित्र क्षेत्रलाई विकासको नयाँ उचाइमा पुर्याउने बताउनु भयो ।
उहाँले चलचित्र चेतना, शिक्षा र नवीन सोचको द्योतक भएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन नैतिक शिक्षा र सामाजिक न्यायको सन्देश दिने खालको चलचित्र निर्माणतर्फ निर्माताहरूको ध्यान जानुपर्ने उल्लेख गर्नु भयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “चलचित्र क्षेत्र केवल मनोरञ्जनको माध्यम मात्र नभएर यो हाम्रै समाज, जीवन र जगतलाई जीवन्त ढंगले अभिव्यक्त गर्ने एक सशक्त माध्यम पनि हो । यसका कथा र प्रस्तुतिमा मानिसका भोगाइ र समाजका यावत क्रियाकलाप प्रतिविम्बित भएको हुन्छ । तसर्थ, यो समाजको ऐना पनि हो । आधुनिक युगमा चलचित्र कुनै पनि समाजको संस्कृति, पहिचान र विविधतालाई देश तथा विदेशमा सहजै पुर्याउने माध्यम बनेको छ । यसबाट हामीले पनि लाभ लिन जरुरी छ ।”
उहाँले चलचित्र र मनोरञ्जन क्षेत्रमा देखापर्ने विकृति र विसंगतिलाई नियमन गर्न नियामक निकायका रूपमा रहेको विकास बोर्ड लगायतका निकायहरूले उचित कदम अगाडि बढाउन जरुरी रहेको बताउँदै भन्नुभयो, “यस क्षेत्रमा प्रतिभाशाली जागरुक युवाहरूलाई अवसर दिन, राम्रा चललचित्र बनाउने र राम्रो अभिनयलाई उत्प्रेरित गर्नेतर्फ विकास बोर्डको ध्यान सदैव केन्द्रित हुनुपर्छ ।”
कार्यक्रममा राष्ट्रपति पौडेलले दीर्घ साधना सम्मानबाट अभिनेत्री चैतीदेवी सिंहलाई तीन लाख ७५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न विधाका पुरस्कार वितरण गरिएको थियो ।