अझै पूर्ण क्षमतामा सञ्चालन भएन चोभार सुख्खा बन्दरगाह

मंसिर १२, २०८१ |भरत रावल
अझै पूर्ण क्षमतामा सञ्चालन भएन चोभार सुख्खा बन्दरगाह

काठमाडौं । काठमाडौं उपत्यकाबाट मालसामान आयात निर्यातको सहजीकरण गर्न ३ वर्षअघि निर्माण गरिएको चोभार सुख्खा बन्दरगाह अझै पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । गत मंसिरदेखि निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिएपछि विद्युतीय सवारी र गोदाम भरिए पनि भन्सारको कामले भने अझै गति लिएको छैन ।

उपत्यकामा हुने व्यापारको आयात-निर्यात सहजीकरणका लागि चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाहको २०७८ चैत २२ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको थियो । तर, बन्दरगाह अझै पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । उद्घाटन भएको दुई वर्षसम्म पनि सञ्चालनमा आउन नसकेपछि गत मंसिरमा निजी क्षेत्रलाई ५ वर्षका लागि जिम्मा दिइएको थियो । त्यसयता केही चलायमान देखिए पनि भन्सारतर्फ भने अझै सुनसान छ ।

यो बन्दरगाह द्रुतमार्गसँगै सञ्चालनमा आउने अवधारणामा निर्माण गरिएको थियो । तर द्रुतमार्ग निर्माणमा ढिलाइ हुँदा भन्सारको कार्यले अझै गति लिएको छैन । वीरगञ्ज, विराटनगर, भैरहवालगायतका भन्सार कार्यालयको चाप कम गर्न द्रुतमार्गबाट आयात निर्यात गर्न भन्दै एसियाली विकास बैंकबाट ऋण लिएर १ अर्ब ५६ करोडमा यो बन्दरगाह निर्माण गरिएको थियो । २ सय २० रोपनी फैलिएको बन्दरगाहमा ५ सयभन्दा बढी कन्टेनर पार्किङ्ग गर्न सकिन्छ । राजधानीमै रहेको र पूर्वाधारका हिसाबले सुविधासम्पन्न हुँदाहुँदै पनि निजी क्षेत्र अझै आकर्षित हुन सकेको छैन ।

चोभार सुख्खा बन्दरगाह गत मंसिरदेखि 'ट्रान्स नेपाल टी आर एस लोजिपार्क' कम्पनीले सञ्चालन गर्दै आएको छ । पाँच वर्षका लागि दुई करोड ८८ लाखमा दिए पनि पछिल्लो समय चहलपहल बढ्दै गएपछि राजस्व बाँडफाँडमा गएर पाँच वर्षको ८ देखि १० करोड रुपैयाँ आर्जन हुने आकलन गरिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले बताएको छ । समितिअन्तर्गत देशभर ८ वटा सुख्खा बन्दरगाह सञ्चालनमा छन् । रसुवागढीमा निर्माणाधिन छ भने दोधारा चाँदनीमा निर्माणको तयारी भईरहेको छ ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement