काठमाडौं । अघिल्लो सरकारले ल्याएको बजेट खर्च गर्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटप्रति नै आक्रोश व्यक्त गर्नु भएको छ ।
आज सिंहदरबारमा आयोजित पहिलो त्रैमासिक समीक्षा कार्यक्रममा प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको बजेट स्वेच्छाचारी र पाखण्डी रहेको टिप्पणी गर्नुभएको छलफल सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेेले जानकारी दिनुभयो । प्रधानमन्त्रीले बजेटमा ११ हजार नक्कली योजना रहेको आरोपसमेत लगाउनु भयो । मध्यावधि समीक्षामार्फत् आकार घटाउनु पर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसको तयारीमा लाग्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको छ ।
सबै मन्त्रालयको प्रगति विवरण सुनेपछि प्रधानमन्त्री ओलीले अघिल्लो वर्षको बक्यौता रकम तिरेका कारण अहिले पुँजीगत खर्च बढेजस्तो देखिएको उल्लेख गर्दै काम गरेरै पुँजीगत खर्च बढाउन निर्देशन दिनु भयो । चालु आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब विकास खर्चको लक्ष्य राखिएकोमा चार महिनामा ३६ अर्बमात्र खर्च भएको छ । त्यसमध्ये २० अर्ब गत वर्षको वक्यौता रकम हो । अर्थात् मात्रै १० अर्ब मात्रै सरकारले यो चार महिनामा गर्न सकेको छ । प्रधानमन्त्री ओलीले आयात पनि सन्तोषजनक नरहेको जिकिर गर्नु भयो । ब्रान्डेड सामान र बस्तु आयातले मात्र अर्थतन्त्रलाई फाइदा नपुग्ने उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले मन्त्रीहरु र कर्मचारीतन्त्रको कामको नतिजा कमजोर रहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । सधैं कमजोर नतिजा ल्याउनेहरुलाई प्रतिष्ठाका लागि पदमा राखिनरहने उल्लेख गर्दै उहाँले राम्रो कार्यसम्पादन गर्न ध्यानाकर्षण गराउनु भयो । प्रधानमन्त्री ओलीले निगम र प्राधिकरणहरु सरकारभन्दा माथि रहेर काम गरिरहेको टिप्पणी गर्दै तिनलाई मन्त्रालय मातहत ल्याउनु पर्ने धारणा राख्नु भयो ।