दुई पटक म्याद थप्दा पनि सकिएन खाँदबारी-नुम सडकखण्डको कालोपत्रे गर्ने काम

मंसिर ११, २०८१ |दीपेन्द्र शाक्य
दुई पटक म्याद थप्दा पनि सकिएन खाँदबारी-नुम सडकखण्डको कालोपत्रे गर्ने काम

संखुवासभा । राष्ट्रिय गौरवको किमाथांका-विराटनगर राजमार्ग अन्तर्गत खाँदबारी-नुम सडकखण्डको कालोपत्रे गर्ने काम दुई पटक म्याद थप्दा पनि सकिएको छैन । ठेक्का लागेको साढे तीन वर्ष बितिसक्दा पनि कामले गति लिन नसक्दा स्थानीयले निकै सास्ती पाएका छन् ।

२०८० को पुस १७ गते सम्पन्न हुने गरी उत्तर-दक्षिण कोशी सडक योजनाले ठेक्का सम्झौता गरेको खाँदबारी-थामसेर्कु १४ किलोमिटर सडकको कालोपत्रे गर्ने काम दुई पटक म्याद थप गर्दा पनि साढे ३ वर्षमा ६५ प्रतिशत मात्रै भएको छ । त्यस्तै, थामसेर्कु-कप्ताने १२ किमी सडकमा ४९ प्रतिशत र कप्ताने-नुम सडकको १३ किमी सडकमा पनि ४० प्रतिशत मात्रै काम भएको छ । कामको गति सुस्त हुँदा चिचिला, मकालु र भोटखोला गाउँपालिकाका स्थानीयले सबैभन्दा बढी सास्ती खेप्नु परिरहेको छ ।

उत्तर-दक्षिण कोशी योजनाले ट्र्याक खुलेको मध्ये ३९ किलोमिटर सडक कालोपत्रे गर्न लागेको हो । झन्डै एक अर्ब २८ करोडमा कालोपत्रेको जिम्मा लिएको ठेकेदार कम्पनी शर्मा शिवशक्ति जेभीले तोकिएको समयमा काम गर्न नसक्दा त्यसको मार स्थानीयलाई परेको छ । स्थानीयको गुनासोपछि जिल्ला प्रशासन कार्यालयले पनि सडक कालोपत्रे गर्न पटकपटक ताकेता गरिरहेको छ । उत्तर दक्षिण सडकले पहिलो पटक २०८१ असार १४ र दोश्रो पटक २०८२ भदौ २६ सम्म म्याद थपेर काम गर्ने मौका दिएको छ ।

खाँदबारीबाट चीनको सीमावर्ती किमाथांका एक सय ६२ किलोमिटर सडकमध्ये अब करिब तीन किलोमिटरको मात्रै ट्र्याक खोल्न बाँकी छ । ठेकेदार कम्पनी शर्मा शिवशक्ति जेभीले तेश्रो पटक थपिएको म्यादभित्र काम सक्ने बताउँदै आएको छ ।

३९ किलोमिटर सडकमा ठेकेदार कम्पनीले ठाउँठाउँमा ग्याबिन तारजाली लगाएर चौडा बनाउने र नाली निर्माण लगायतका काम मात्रै गरेको छ । यो सडकखण्ड कालोपत्रे गर्न तेश्रो पटक म्याद थप गरे अनुसार २०८२ भदौ २६ सम्ममा सम्पन्न गरिसक्नुपर्ने छ । तर कामको गति हेर्दा यो समयमा सम्पन्न गर्न कठिन देखिन्छ ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।


Enter Kantipur TV HD
Advertisement