धनुषा । मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मधेश आन्दोलनका शहीद परिवारका सदस्यहरूले प्रदर्शन गरेका छन् । प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले शहीद परिवारका एक-एक जनालाई रोजगार दिने निर्णय गरे पनि हालसम्म कार्यान्वयन नभएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा प्रदेशका आठै जिल्लाका शहीद परिवारका सदस्यहरू सहभागी छन् । उनीहरूले प्रदेश सरकारले आफ्नो माग पूरा नगरेसम्म घर नफर्किने बताएका छन् ।
अधिकांशलाई नियुक्ति पत्र दिइए पनि अहिलेसम्म जागिर पाउन नसकेको उनीहरूको आरोप छ । मधेशी शहीद प्रतिष्ठानका सदस्य रामनरेश रायले प्रदेशमा जनमत नेतृत्वको सरकार गठन भएपछि सो सेवा सुविधाबाट वञ्चित गरिएको आरोप लगाउनु भएको छ । मुख्यमन्त्री समक्ष पटकपटक धाए पनि सुनुवाई नभएको उहाँको भनाइ छ ।