बबई गाउँपालिकाको अधिकांश भूभाग सल्यानको नक्सामा, सेवा पाउन स्थानीय बञ्चित

असार १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
बबई गाउँपालिकाको अधिकांश भूभाग सल्यानको नक्सामा, सेवा पाउन स्थानीय बञ्चित

दाङ । सदरमुकाम घोराहीदेखि ७७ किलोमिटर पश्चिम दक्षिणमा पर्छ दाङको बबई गाउँपालिका-१ गंगटे गाउँ । 

एक नम्बर वडामा मात्रै ४२ वटा गाउँटोल छन् । जिल्ला दाङ भए पनि धेरै भूभाग सल्यानको नक्सामा छ । भौगोलिक विकटता र आधारभूत आवश्यकताको पहुँचबाट टाढा रहेका त्यहाँका नागरिक भन्छन् हामीलाई कुनै सरकारले छुँदैन ।

खानेपानी र सिंचाइको कुनै सुविधा नभएको गंगटे गाउँका ७३ वर्षका मोतिलाल घर्तिमगर वैशाख महिनामा छरेको घैयाधान गोडिरहनु भएको छ । वर्षात् राम्रो भए केही महिनालाई खान पुग्ने धानको जोहो गर्न उहाँ बुढेसकालमा कोदालो चलाइ रहनुभएको छ । गंगटे गाउँमा खानेपानीको पनि उस्तै दुख छ ।

कच्ची सडकमा बर्खाभरि गाडी चल्दैन । भएको एउटा स्वास्थ्यचौकी नाममात्रैको छ । ज्वरो आयो भने कहिले त सिटामोलसम्म पाइदैन । गंगटेमा दु:ख आपत र बिरामी परेको समयमा एम्बुलेन्स सेवा त्यहाँका नागरिकले अहिलेसम्म पाएका छैनन् । 

२०७१ सालमा बाढीले बगाइदिएपछि अर्को स्थानमा स्थापना भएको वडा नम्बर १ मा भएको एउटा माध्यमिक तहको विद्यालयको समेत उस्तै दुर्दशा छ ।

बबई गाउँपालिका १ मा मात्रै ४२ वटा साना ठूला गाउँ छन् । भौगोलिक विकटताका कारण केही गाउँ त दिनभरिको बाटो हिँडेपछि पुगिन्छ । पालिकाले वडालाई दिने बजेट निकै कम भएकाले विकासका काम अघि बढाउन नसकिएको पूर्ववडाध्यक्षले गुनासो गरिरहँदा कतिपय ऐनकाकुन बाधक रहेका कारण अपेक्षाकृत विकास हुन नसकेको पालिकाको भनाइ छ ।

नागरीकको सुरक्षाका लागि भन्दै एक वर्ष अघि स्थापना भएको अस्थायी प्रहरी पोस्टका ५ जना प्रहरी भाडाको बसिरहेका छन् । भौगोलिक विकटता र सवारीसाधनसमेत नहुँदा प्रहरीलाई गस्ती जानसमेत कठिनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.